रसुवामा पाशविक हत्याः ‘बोक्सो’ को आरोपमा जिउँदै गाडियो


२०७३ वैशाख १९ काठमाडौं ।

 समाजमा अन्धविश्वासले जरा गाढेपछि मानवता हराउँदा रसुवामा एक व्यक्तिले जिउँदै गाडिनुपरेको छ । बोक्सोको आरोपमा नजिकका आफन्तले एक वृद्धलाई जिउँदै गाडेर हत्या गरेका छन् । करिब एक महिना अघिदेखि गाउँलेले लुकाएर राखेको यस हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
 रसुवाको विकट गाउँ घुर्मु गाविसको यार्सा ९ का ५५ वर्षीय तुलु सार्की थिङको हत्या भएको घटना गाउँलेले नै लुकाएर राखे पनि प्रहरीको सफल अनुसन्धानबाट एक महिनापछि आरोपीहरु पक्राउ परेका छन् । तुलु सार्की थिङको हत्या आरोपमा प्रहरीले उनकै भतिज २७ बर्षीय कान्छा शेर्पा थिङ, ५० वर्षीय छेनुर्बु तामाङ र मृतककै भाइबुहारी पर्ने ४० बर्षीया ल्याङबुटे तामाङलाई जिल्ला प्रहरी कार्यालय रसुवाबाट निरीक्षक प्रमेश विष्टको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।
 ज्युँदै गाडियो जिल्ला प्रहरी कार्यालय रसुवा इन्पेक्टर प्रमेश विष्टका अनुसार विगत एक वर्षदेखि विरामी भैरहेका आरोपी कान्छाका दाजु साङबो तामाङको गत चैत ४ गते निधन भएको थियो । साङबोेको मृत्यु तुुलुसार्की थिङले बोक्सो लागेका कारण भएको भन्दै भाइ कान्छासहितको समूहले ४ गते नै तुलुसार्कीलाई मलमूत्र खुवाएर कालोमोसो समेत दली गाउँबाट निकालेको प्रहरीको भनाइ छ । 
 गाउँ निकालापछि श्रीमती र सन्तानलाई अन्तै पठाएर तुलु केरुङमा मजदूरी गर्न पुगे । तर, गाउँ निकाला गर्दा पनि चित्त नबुझेर कान्छा थिङसहितको समूहले तुलुसार्कीलाई विभिन्न बहाना बनाएर फेरि गाउँमा बोलाएको प्रहरी स्रोत बताउँछ ।
 स्रोतका अनुसार आफन्तको विश्वासमा पुनः गाउँ फर्केका तुलुलाई कान्छा तामाङले वैशाख ४ गते बोलाएर आफ्नै घर लगे । करिब २५ मिनेट हिँडेर घरमा पुगेपछि रक्सी खुवाएर भतिज पर्ने कान्छा, बिरामी भएर मृत्यु भएका साङबोकी श्रीमतीसहितको समूहले दाउराको चिरपट, लाठी लगायतले आक्रमण गरे । आक्रमणबाट अर्धचेत भएपछि नजकैको सल्लाघारीमा लगेर खाल्डो खनेर गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
 उनको टाउको बाहिरै निकालेर पुरिएको र टाउकोमा ठूलो ढुंगाले थिचेर हत्या गरिएको प्रहरीको भनाइ छ । गाउँलेले घटना लुकाए चैतको अन्तिमतिर जिल्ला प्रहरी कार्यालय रसुवामा नजिकैको एउटा गाउँमा जिउँदै गाडेर मान्छेको हत्या सूचना आएपछि प्रहरीले सुराकी परिचालन गरेको थियो 
। इन्स्पेक्टर विष्ट आफैले यस घटनाको सुरुवातदेखि नै अनुसन्धान गरे । जिल्ला प्रहरी कार्यालयबाट करिब ४५ किलोमिटर टाढा भएको घटनाको बारेमा जानकारी दिन गाउँका कोही पनि तयार भएनन् । इन्सपेक्टर प्रमेश विष्टसहितको टोलीले एक साता लामो अनुसन्धानपछि र्घुमु यार्सामा मान्छे मारिएको एकिन गरेर पहिलो चरण कान्छा शेर्पा थिङलाई पक्राउ गर्‍यो । 
अनुसन्धानका क्रममा कान्छाले तुलुसार्कीको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले घटनामा संलग्न अन्य दुईजना पक्राउ गर्‍यो । प्रहरीले तुलुसार्कीको शव ढुंगाले थिचेर पुरिएको अवस्थामा उत्खनन् गरेको थियो । रसुवाका डीएसपी अवदेश विष्ट भन्छन् -‘चैतमा पनि त्यही मान्छेलाई मानव मलमूत्र खुवाएर गाउँ निकाला गरिएको रहेछ, त्यो घटना लुकाउँदा तुलु सार्कीको ज्यान गयो ।
’ ‘हत्या गरिएको घरको आसपास खासै घरहरु थिएनन्, तर नजिकै रहेका गाउँलेहरुले थाहा पाए पनि प्रहरीलाई खबर गरेनन्’ डीएसपी विष्टले भने । अन्धविश्वासको पराकाष्टा: प्रहरी बोक्सीको अन्धविश्वास अहिले पनि कस्तो अवस्थामा छ भन्ने रसुवाको घटना एउटा गतिलो उदारण भएको प्रहरी बताउँछ । तराईका जिल्लाहरु मात्रै होइन, पहाडी जिल्लाका गाउँमा पनि अझै बोक्सीजस्तो अन्धविश्वासका कारण तुलुले अनाहकमा ज्यान गुमाउनुपरेको छ । 
 डीएसपी विष्ट भन्छन्- ‘अहिले पनि बोक्सोको आरोपमा ज्युँदै गाडेर मान्छेको हत्या हुन्छ, त्यो पनि आफनै परिवारबाट । यस्ता घटना विरुद्धमा प्रहरी कठोर रुपमा प्रस्तुत हुन्छ ।’

0 comments

Write Down Your Responses