‘विद्यार्थीले पाउने ऋणको ब्याज सरकारले तिर्नेछ’
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने विषय चुनौतीपूर्ण भएपनि लागू गर्ने बताएका छन् ।
‘विद्यार्थीलाई प्रदान गरिने ऋणको जमानी सरकार वस्नेछ र ब्याज सरकारले तिर्नेछ,’ ५२ औं विद्यार्थी दिवसको अवसरमा एनेकपा (माओवादी)निकट अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा उनले भने,‘वैंकले धेरै चिन्ता लिनुपर्दैन ।’
उनी शिक्षा मन्त्री भएपछि उच्च शिक्षा अध्ययन गर्न ऋण उपलब्ध गराउने १८ बुदे प्रतिबद्धतामा पनि समेटेका थिए ।
आफनो प्रतिबद्धतालाई कार्यान्वयन गर्न अर्थमन्त्रीसंग सल्लाह गरेर सरकारको नीति तथा कार्यक्रममा समावेश गराइएको उनले दाबी गरे ।
सार्वजनिक विद्यालय सुधारका लागि नयाँ निर्देशिका ल्याउने तयारीमा रहेको उनले बताए । सरकारी कर्मचारीले आफनो छोराछोरी सामुदायिक विद्यालयमा पढाए मात्रै सुधार गर्न सकिने उनले बताउदै आएका छन् ।
क्रान्तिकारीले शिक्षामन्त्री, योजना आयोग, राष्ट्र वैंक, युवा स्वरोजगारका प्रतिनिधिलाई पनि राखेर शैक्षिक प्रमाणपत्रको आधारमा ऋण र कार्यान्वयनको सवालमा अन्तरक्रिया गरेको थियो । क्रान्तिकारीका कार्यवाहक अध्यक्ष नरेन्द्र न्यौपानेले सरकारले वजेटमा ठोस कार्यक्रम ल्याई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने कुरालाई सुनिश्चित गर्न आग्रह गरे ।
‘छुट्टै वैंक मार्फत यसलाई ब्यवस्थित गरिनुपर्छ,’उनले भने । राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेलले ऋण पाउने विद्यार्थीले स्वदेशमै बसेर काम गर्ने वातरण सुनिश्चित गरिनुपर्ने बताए । राष्ट्र वैकका संचालक समिति सदस्य विकेमान सिंहले ऋण दिने व्यवस्था सकारात्मक कार्यक्रम भएकाले कार्यान्वयनका लागि सरकारले गृहकार्य गर्नुपर्ने बताए ।
‘ऋण मात्र दिएर हुँदैन, रोजगारको अवसर पनि सृजना गरिनुपर्छ,’उनले भने,‘सरकारले ब्याज तिर्नुपर्यो र लगानीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्यो ।’ यो जटिल प्रक्रिया भएपनि असम्भव नभएको उनले बताए ।
युवा स्वरोजगार कोषका पुर्व उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले शैक्षिक प्रमाणपत्रको आधारमा वैंकहरुले त्यति सजिलै ऋण नदिने भएकोले सरकारले आश्वस्त पार्नु पर्ने बताए ।
‘वेरोजगार युवाले भत्ता पाउनुपर्छ भन्नुभन्दा ऋण पाउनुपर्छ,’ उनले भने, ‘गरिखान पाउनुपर्छ भन्ने कुरा धेरै राम्रो कुरा हो ।’

0 comments
Write Down Your Responses