५ नेपाली शिक्षक एक महिनादेखि भारतीय जेलमा
जेष्ठ ३, २०७३- नेपाल
भारत सिमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार खरिद गर्ने क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरी प्रशासनले पक्राउ गरेका ५ नेपाली शिक्षक एक महिनादेखि थुनामै छन् ।
दिल्ली/आग्राको एक साता लामो शैक्षिक/धार्मिक भ्रमण पुरा गरेर गत चैत २९(अप्रिल ११)मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका यात्रु शिक्षकले नजिकैको नौतनवा बजारमा उपहार किनमेल गरेका थिए ।
चितवन नगरपालिका–१२, दिव्यनगरस्थित युवा माध्यमिक बिद्यालयका शिक्षकहरु जीवाखर ढकाल, अम्बिकाप्रसाद घिमिरे, कृष्णचन्द्र सापकोटा, अच्युत घिमिरे(कर्मचारी) र शिवभक्त पण्डित(निवृत्त शिक्षक) नक्कली नोटको परिबन्दमा परेर कानूनी कारवाहीमा परेका हुन् । शैक्षिक भ्रमणमा भने शिक्षक, कर्मचारी तथा तिनका परिवार गरेर २८ जना भारत आएका थिए । नक्कली रुपैयाँ साथमा भेटिएका ५ बाहेक अरु सबै यात्रु चितवन घर पुगिसकेका छन् ।
थुना पर्नेमध्येका एक आफन्त हाल साउथ एसिया युनिभर्सिटीमा अध्यापनरत युवराज पोखरेलका अनुसार पाँचै जनालाई कानूनी कारवाहीका क्रममा नौतनवा प्रहरी चौकी हुँदै महाराजगञ्ज जिल्ला अदालत र राज्यको अलाहबाद उच्च न्यायालयमा लगिएको छ । चितवन छँदै स्थानीय एजेन्टमार्फत साटेको भारतीय पैसामध्ये ४ हजार रुपैयाँ नक्कली भेटिएको र त्यही प्रमाणका आधारमा प्रहरीले कारवाही अघि बढाएको आफूले ढिलो गरी जानकारी पाएको पोखरेलले बताए ।
यो घटनाबारे पोखरेलले नेपाली दुतावासलाई जानकारी गराइसकेका छन् ।
चैत २३ देखि एक साता लामो बिदा लिएर शैक्षिक भ्रमणमा निस्किएका शिक्षकलाई चितवनकी आरती चौधरी, काठमाडौंका भरत श्रेष्ठ र रामप्रसाद श्रेष्ठले भारु रकम सटही गरिदिएको सूचना नेपाल प्रहरीले पाएको छ ।
सटही गर्नेमध्ये दुइलाई नेपाल प्रहरीले चितवनमा पक्राउ गरेर केरकार अघि बढाइसकेको स्थितिमा ‘कारवाहीको परिबन्दमा परेका ५ शिक्षकलाई थुनामुक्त गराउन’ परराष्ट्र मन्त्रालय(काठमाडौं)ले भारतीय दुतावासमार्फत अनुरोध गरिसकेको जानकारी पोखरेलले दिए ।
अनाहकमा थुनामा परेका शिक्षकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दुतावासलाई पत्र लेखिसकेको र दुतावासले विदेश मन्त्रालयलाई उद्धारमा आवश्यक समन्वयका लागि अनुरोध गरिसकेको जानकारी दिएपनि थुनामा रहेका शिक्षकको पछिल्लो स्थिती तथा अबको प्रकृयाबारे कुनै सूचना छैन ।
भारतमा ‘नक्कली नोटको कारोवार’ सम्बन्धी मुद्धालाई गम्भीर रुपमा लिइने भएकाले अदालती प्रकृया पुरा भएपछि मात्रै थुनामा परेका शिक्षकको रिहास्थिति स्पष्ट हुने देखिएको छ । उत्तर प्रदेशमा पर्ने नौतनवा सहर सिमावर्ती सुनौली–भैरवहा नाकाबाट ७ किलोमिटरको दूरीमा पर्छ ।


0 comments
Write Down Your Responses