बेराेजगार युवाहरूकाे पक्षमा बाेल्दै नयाँ शक्तिका संयाेजक डा भट्टराइले यसाे भने
सोमबार, बैशाख २०, २०७३
काठमाडौँ ।
स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै खुलामञ्चमा विगत छ दिनदेखि आमरण अनशनमा बस्दैआएका युवाको पक्षमा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले ऐक्यबद्धता जनाउनुभएको छ ।
आज अनशनस्थल खुलामञ्च पुगेर उहाँले राज्यले बेरोजगार युवालाई क्षमताअनुसार रोजगारी दिनुपर्ने र बेरोजगारी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
अनशनरत समूहका संयोजक एवम् पूर्व सांसद चन्द्रबहादुर थापाका अनुसार नयाँ शक्तिका संयोजक डा भट्टराईले बेरोजगारी नेपालको पहिलो समस्या भएकाले त्यसको यथोचित समाधान खोज्नु राज्यको पहिलो दायित्व भएको बताउनुभएको थियो । राज्यले अनशनकारीको स्वास्थ्यमा प्रतिकूल समस्या आउनुअघि नै सार्थक संवाद थाल्न पनि उहाँले आह्वान गर्नुभयो ।
योग्यता, सीप र दक्षताअनुसारको रोजगारीको प्रत्याभूत गरिनुपर्ने, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिइनुपर्ने, बेराजगार भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर १२ जना युवा गत बुधबारदेखि खुलामञ्चमा आमरण अनशनमा बसिरहेका छन् ।
अभियानका संयोजक थापाको नेतृत्वमा अनुषा राई, जीविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङ्ताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल र महेश नेपाल आमरण अनशनमा हुनुहुन्छ ।
यस्तै सांसद एवम् नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्ण, नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पनि आजै अनशनस्थल पुगेर ऐक्यबद्धता जनाउनुभएको छ ।


0 comments
Write Down Your Responses