किन खोज्छन् नेपाली हिरोइन धनाढ्य पति ?

काठमाडाैं-सार्क फिल्म फेस्टिबलमा २०७१ मा ‘झोला’ चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेपछि नायिका गरिमा पन्तको फिल्मी करिअरले थप गति लिने आशा गरिएको थियो । उनका फ्यानहरु कुनै भब्य ब्यानरको फिल्ममा राम्रै रकममा गरिमाले साइन गरेर फिल्ममा देखिने प्रतीक्षामा थिए । तर, शालिन नायिकाको छवि बनाएकी गरिमाको परिस्थिति ठीक उल्टो बनेर सार्वजनिक भयो । 
‘वेष्ट एक्टर्स’को अवार्ड पाएपछि केही समय सार्वजनिक कार्यक्रममा सम्मान ग्रहण गरेकी गरिमा गुननाम बनिन् । केही महिना गुननाम बनेकी उनको एकाएक वेल्जियममा बस्दैं आएका धनाढ्य ब्यवसायी हरि शर्मा थपलियासँग विवाहको खबर सार्वजनिक भयो । तर, धेरैले उनको भएको भनिएको विवाहमाथि प्रश्न उठाइरहेका थिए ।
 किनभने, न गरिमा न त हरिले नै विवाहको कुनै प्रमाण सार्वजनिक गरेका थिए । उनी निकट सुत्रहरुले भने गरिमाले नेपालमा परम्परागत विवाह गर्ने गरी बेल्जियममा पेपर म्यारिज गरेको सूचना दिएका छन् । गरिमाले आफ्नो फेसबुकमा एउटा नयाँ तस्विर सार्वजनिक गरिन् । त्यो तस्विरले उनको विवाहको खबरलाई झनै बलियो बनायो ।
 किनभने, एनआरएन धनाढ्यसँग उनको लगनगाँठो कस्सिएको समाचार सार्वजनिक भएकै बेला उनले बेल्जियममा आफ्नो ब्यवसायिक जीवन सुरु भएको घोषणा गरिन् । उनले फेसबुकमा पोष्ट गरेको उक्त तस्विरको क्याप्सनमा लेखिएको थियो, ‘मेरो नयाँ यात्रामा पाइला चाल्नुअघि सबै साथीहरुलाई खुशी बाँड्न चाहन्छु, आफूलाई ब्यवसायीका रुपमा श्रीवृद्धि गर्दै ।’ गरिमाले नयाँ सार्वजनिक गरेको सो तस्वीरमा हरि शर्मा समेत छेउमा उभिएका छन् ।
 स्रोतका अनुसार उनै हरिले गरिमाका लागि ‘गरिसुमी’ नामको जापानिज रेष्टुरेण्ट खोलिदिएका हुन् । गरिमा मात्र होइन्, धनाढ्य प्रेमी र पति बनाउने नेपाली नायिकाहरुको सूची लामै छ । मोडलिङ हुँदै फिल्मी क्षेत्रमा स्थापित हुने र परिपक्व बन्दै गएपछि धनाढ्य पुरुष खोजी विहे गर्ने नायिकाहरुको नियती नै बनेको छ । ३० वर्षको उमेर नाघिसक्दा पनि विहे नगरिकन बसेका कतिपय नायिकाहरु भने धनाढ्य पुरुषलाई प्रेमी बनाएर अचानक विवाह गरी गृहिणी जीवन नै अपनाउने गरेका छन् । कतिसम्म भने कतिपय नायिकाहरुले त ठूला ब्यापारीहरुको साथमा ‘असमान विवाह’ समेत गरेका छन् ।
 विदेशमा बस्दै आएका ब्यवसायीहरुसँग अचानक ‘लभ अफेयर्स’ हुनु र विवाह नै गरिहाल्ने शैलीले प्रेमभन्दा पनि बढी सम्पत्तिसँगको मोहलाई इङ्गित गरेको छ । झरना बज्राचार्य नायिका झरना ब्रजाचार्यले भारतीय मूलका मलेसियन ब्यवसायी राहुल अग्रवालसँग लगनगाँठो कसिन् । पूर्व मिस नेपाल समेत रहेकी उनले अहिले एक सन्तान पनि जन्माइसकेकी छिन् । 
आकर्षक मात्रै नभएर एकेडेमिक अभिनेत्रीको रुपमा समेत आफ्नो छवि बनाएकी झरना विहेपछि भने फिल्मी दुनियाँमा देखिएकी छैनन् । अर्थात्, विहे भएको केही महिनापछि नै उनले ट्वीटरमार्फत आफू मलेसियामा सेटल हुँदै गरेको सुचना सार्वजनिक गरेकी थिइन् । र हालै मात्र उनले गर्भवती बनेको तस्वीर सार्वजनिक गरेकी हुन् । 
यसले उनी फिल्मी करिअर छोडेर गृहिणी बन्ने बाटोमा लागेको कुरालाई थप पुष्टि गरेको छ । त्यसो त, झरनाले यसअघि एक बेलायती धनाढ्य नागरिकसँग इङ्गेजमेन्ट नै गरेकी थिइन् । तर सम्बन्धमा मनमुटाव आएपछि झरनाले बेलायती छोडेर भारतीय मूलका मलेसियन ब्यवसायी रोजेकी थिइन् । हर्षिका श्रेष्ठ नयाँ पुस्ताकी नायिका हर्षिका श्रेष्ठले भारतीय ब्यवसायी प्रसुन झुन्झुलवाललाई आफ्नो पति बनाएकी छिन् ।

झण्डै एक वर्षअघि ती ब्यवसायीसँग विहे गरेर भारतको कोलकतामा बस्दै आएकी छिन् हर्षिका । त्यसअघि भने हर्षिका आफ्नै सहपाठीसँग प्रेममा परेकी थिइन् । तर के कारणले ब्रेकअप भयो त्यो चाहिँ खुलाइएन । अमेरिका बस्दै आएका ती सहपाठीभन्दा पनि अघि हर्षिकाले अर्का एक युवकसँगको प्रेम सम्बन्ध टुङ्ग्याएकी थिइन् । मोडलिङमा स्थापित बनेर ठूलो पर्दामा समेत स्थान पाउन थालेकी हर्षिकाका लागि भारतीय ब्यवसायी झुनझुनवाल तेस्रो धनाढ्य प्रेमी हुन् ।

माल्भिका सुब्बा पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि पाँच वर्षअघि काठमाडौंकै एक सफल ब्यवसायीसँग विहे गरेकी थिइन् । मोडलिङ र अभिनयमा राम्रो स्थान बनाएकी सुब्बा कलाकारिताको दुनियाँबाट लगभग टाढिएकी छिन् । हालै भर्गवती भएपछि उनले पनि श्रीमानसहित आफ्नो ‘बिग बेली’ तस्वीर सार्वजनिक गरेकी थिइन् । इन्स्टाग्राममार्फत उनले गर्भवती बनेको खबर सार्वजनिक गरिरहँदा थुप्रैले उनले अब फिल्मी दुनियाँ नै छोडेको टिप्पणी गरेका थिए । 

 विपना थापा कुनै समय निकै ब्यस्त नयिका विपना थापाले पनि सन् २००८ मा भारतीय नागरिक आशुतोष भारध्वजको साथमा विहे गरेकी थिइन् । अहिले उनी ६ वर्षकी सानी छोरीको साथमा भारतमै गृहिणी जीवन बिताउँदै छिन् । केही वर्षअघि नेपाल आएको बेला फेरि सिनेमामा फर्कनसक्ने संकेत उनले दिएकी थिइन् । तर, भारत फर्केपछि उनको दैनिकी गृहिणीमै सिमित छ । विपनाले पनि भारतीय धनाढ्यको साथमा विहे गरेकी थिइन् ।

 सिम्पल खनाल केही महिनाअघि मात्रै अर्की मोडल सिम्पल खनालले एक धनाढ्य पुरुष नदिन नाम बेलायतमा ब्यवसाय गरिरहेका युवकसँग विवाह गरेकी छिन् । भारतीय मूलका ब्यवसायी नदिनको साथमा उनले विहे गरेकी हुन । तर, सिम्पलको यो पहिलो विहे भने होइन । ६ वर्षपछि म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलको साथमा विहे गरेकी सिम्पलले डिभोर्स गरेको पनि ४ वर्ष भइसकेको थियो । यो बीचमा उनी मोडलिङमा पनि खासै देखिइनन् । 

तर, अचानक ब्यवसायीको साथमा दोस्रो विहेको खबर सार्वजनिक गरिन् । रेखा थापा नायिका रेखा थापा पनि यो शिलशिलामा अगाडि छिन् । झापामा हुर्केकी थापा फिल्मी करिअरमा स्थापित बन्नका लागि छवि ओझाको सहारा लिइन् । थापाका लागि छविले फिल्मी करिअरमा मात्रै सघाएनन् दाम्पत्य जीवन नै सुरु भयो उनीहरुको । अन्ततः थापा स्थापित बनेपछि ओझालाई छोडेर माइतीमै बस्न थालिन् । त्यसो त, अमेरिका बस्दै आएका धनाढ्य ब्यवसायी सुदर्शन गौतमको साथमा थापाले नयाँ फिल्म निर्माण गरिन्, ‘हिम्मतवाली’ ।
 केही महिनाअघि मात्रै रेखाले अमेरिकामा एक रेष्टुरेण्ट पनि सञ्चालन गरेकी छिन् । स्रोतका अनुसार उनै सुदर्शनको साथ र सहयोगमा थापाको रेष्टुरेण्ट सन्चालनमा आएको हो । नम्रता श्रेष्ठ नायिका नम्रता श्रेष्ठले पनि धनाढ्य प्रेम घलेको साथमा विहेको तयारी गरेकी थिइन् । तर, घले भन्दा पनि धनी अर्का आकर्षक युवक भेटिए स्टीभन दावा शेर्पा । अहिले उनै स्टीभनको साथमा प्रेममा छिन् नम्रता । त्यसो त नम्रताको जीवनमा चौथो प्रेमी बनेर आएका स्टीभनले विश्वकै सर्वोच्च स्थान सगरमाथाको आधार शिविरमा महंगो क्याफे सञ्चालन गरेका छन् ।
 नेपाली बावु र विदेशी आमाको सन्तान स्टीभन अति कम धनी नेपालीहरुमध्ये एक हुन् । संयोग नै होला, नम्रताले अहिलेसम्म रोजेका रेमनदास, डिजे तान्त्रिक, प्रेम र स्टीभन सबै धनाढ्य नै हुन् । जेनिशा मोक्तान पूर्व मिस नेपाल तथा मोडल जेनिशा मोक्तानले पनि धनाढ्य ब्यवसायी खोजेर विहे गरेकी छिन् । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता ‘इन्टिग्रेटेड मोविलिटी सोलुसन’का अध्यक्ष दिकेश मल्होत्राको साथमा जेनिशाले विहे गरेकी हुन । 
ब्यावसायी दिपक मल्होत्राका छोरा हुन् दिकेश । जेनिशा र दिकेश भने पछिल्लो केही वर्षयता प्रेम सम्बन्धमा रहँदै आएका थिए । अनौठो त के भने, अफेयर्समै रहँदा दिकेशले प्रेमिका जेनिशालाई आफ्नै कम्पनीको मुख्य पदमा जागिर समेत दिएका थिए । जेनिशा पछिल्लो समय मोडलिङ र अभिनय छोडेर जागिरमै ब्यस्त छिन् । रेजिना उप्रेती बेलायत बस्दै आएका सुरज पोखरेलको साथमा उनले दुई वर्षअघि विहे गरेकी हुन् ।

 सन् २०१४ फेब्रुअरीमा विहे गरेदेखि नै उनीहरु बेलायतमा बस्दै आएका छन् । त्यसो त रेजिना र फिल्म निर्देशक सोभित बस्नेतको प्रेम सम्बन्धको चर्चा बारम्बार भइरहन्थ्यो । रेजिना फिल्मको नामबाट जति चिनिन्थिन् त्यसभन्दा धेरै निर्देशक सोभितको नामले चर्चामा आउँथिन् । रेजिनाले ठिक त्यसबेला विहेको निर्णय गरिन् जतिबेला फिल्मी क्षेत्रमा उनको ओरालो बाटो सुरु भयो । सारंगा श्रेष्ठ पुरानो पुस्ताकी नायिका सारंगा श्रेष्ठ अमेरिका बस्दैआएको दशक भइसक्यो ।
 त्यहाँ बस्नको लागि उनले अमेरिकाकै एक नागरिकको साथमा विहे गरेकी थिइन् । अमेरिकी नागरिकसँग केही समयको ‘लिभ इन टुगेदर’पछि विहे गरेकी सारंगा श्रेष्ठले केही समयमै डिभोर्स गरिन् र अमेकिराको मेरिल्याण्ड बस्दै आएका म्याग्दीका रमेश कार्कीसँग विहे गरिन् । सन् २०१२ मै श्रेष्ठले कार्कीसँग अदालती विहे गरेकी हुन् । अहिले उनै कार्कीको साथमा श्रेष्ठ सँगै बस्दै आएकी छिन् ।
 सुमिना घिमिरे सुर्खेतकी मिना घिमिरे काठमाडौं आएर फिल्ममा स्थापित हुन नाम मात्रै फेरिनन् प्रेमी (श्रीमान) पनि फेरिन् । इङगेजमेन्ट नै भइसकेको एक प्रेमीलाई छोडेर सुमिनाले धनाढ्य पाइलट रोजिन् । 
पाइलट रोशन सापकोटासँग एक वर्षअघि काठमाडौंमै भएको थियो उनको । विहेपछि पनि सुमिनाका पूर्व प्रेमी (इङ्गेजमेन्ट नै भएको थियो)ले विभिन्न पत्रपत्रिकामा सुमिनासँगको सम्बन्धबारे समाचार प्रकाशन गराएका थिए । अनेक स्टन्टबाजी गरेर चर्चा बटुल्ने सुमिनाले करिअर नै धरापमा पर्ने देखिएपछि सन् २०१५ को सुरुतिरै विहे गरेकी थिइन् ।
 रिमा विश्वकर्मा रिमाले पनि सन् २०१५ को सेप्टेम्वरमा बेलायतबासी धनाढ्य एनआरएनएसँग विहे गरेर भविष्य सुनिश्चित गरिन् । बेलायतमा बसेर ब्यवसाय गर्दै आएका रोबोर्ट विकसँग काठमाडौंको हायात होटलमा रिमाको विहे भएको थियो । सञ्चारकर्मीको रुपमा टेलिभिजनबाट करिअर सुरु गरेकी रिमा म्युजिक भिडियो हुँदै अन्ततः फिल्मी क्षेत्रमै स्थापित बनिन् । जतिवेला उनी ब्यस्त नायिकाको रुपमा चिनिन थालेकी थिइन् ठिक त्यही बेला रोबर्टको साथमा वैवाहिक सम्बन्ध सुरु गरिन् । र रिमाले अब फिल्मी क्षेत्रलाई बिदाई गर्दै श्रीमानकै साथमा बेलायत बस्ने तयारी गरेको बुझिएको छ ।

करिस्मा पनि धनाढ्य प्रेमी र श्रीमानको खोजी गर्ने लामो शिलशिला नायिका करिस्माले नै सुरु गरेकी थिइन् । ‘कस्तुरी’ फिल्म सुटिङको क्रममा भेटिएका ब्यावसायी विनोद मानन्धरसँग प्रेममा परेपछि विवाह गरेकी थिइन् करिस्माले । काठमाडौंकै धनाढ्य ब्यवसायी विनोदले फिल्म निर्माताको पनि छवि बनाए । सुन्दर नायिका करिस्मालाई विनोदले मन पराएपछि उनीहरुको विवाह सम्भव भएको थियो । उनीहरुको एक छोरी छिन् कविता मानन्धर । 
छोरी कविता पनि अमेरिकाको पढाइपछि मोडलिङमै करिअर खोज्ने क्रममा छिन् । अभिनेत्री ऋचा शर्माले केही महिनाअघि पत्रकार ऋषि धमलासँगको एक अन्तरर्वार्तामा आफ्नै राम्रो ब्यवसाय भएको केटा भेटिए विहे गर्ने मनस्थिति बनाएको खुलासा गरेकी थिइन् । त्यसो त यसअघि अभिनेता विनयसँग प्रेममा परेकी ऋचा सम्बन्ध टुटेपछि धनाढ्य श्रीमानको खोजीमा भएको पुष्टि भएको छ । ऋचा आफैं पनि एकेडेमिक र धनी युवती हुन् ।
 काठमाडौंको बालुवाटस्थित उनको आकर्षक निवास छ । तर पनि उनले किन धनाढ्य ब्यवसायी नै खोजिन् भन्ने मुख्य विषय बनेको छ नेपाली फिल्मी क्षेत्रमा । र यो ऋचाको मात्रै विषय नभएर लगभग सबै नेपाली नायिकाहरुको बाध्यता भएको बताउँछन् निर्माता छवि ओझा । उनी भन्छन्, ‘नेपाली नायिकाहरुको करिअरको आयु १० देखि १५ वर्षमात्रै हो । 
त्यसपछि स्वत विस्थापित बन्नुपर्ने अवस्था आउँछ । त्यसैले भविष्य सुरक्षित गर्न पनि धनाढ्य ब्यवसायी खोज्नुपर्ने बाध्यता देखिएको हो ।’ धनाढ्य ब्यक्तिसँग विहे गरी आफैं निर्माता बनेर बस्ने गरेको दृष्टान्त रहेको ओझा बताउँछन् । त्यसो त, फिल्मी क्षेत्रमा हुने अनेक फन्डा र हल्लाबाट भाग्नका लागि पनि विदेशी वा धनाढ्य ब्यापारीसँग बस्नुको एउटै कारण ‘सेक्युरिटी’ रहेको ओझाको बुझाइ छ । 

भन्छन्, ‘म्याचुअर्ड’ बनेपछि पनि स्थापित हुन असम्भव छैन । नेपालमै बसेपछि कैयौँ हल्लाहरु आइरहने भएकाले पनि विहे गरेर विदेश गएपछि हल्ला सुन्नु पर्दैन ।’ समीक्षक तथा टिप्पणीकार प्रकाश सायमी पनि यस्तो तर्कमा सहमत छन् । उनी भन्छन्, ‘अध्ययन अनुभव केही हुँदैन । लोकसेवामा परिक्षा दिएर जागिर खाने कुराको सम्भावना पनि छैन । अनि कलाको नाममा पैसा भएको मान्छेलाई फसाएर बस्ने सेफ ल्यान्डिङको पाटो हो ।’ यस्तो अभ्यास नेपालमा मात्रै नभएर बलिउडमा समेत रहेको सायमीको भनाइ छ । र यस्तो नायिकाहरुको बाध्यता र चलाखी दुवै भएको सायमी बताउँछन् ।

 सायमीका अनुसार यस्तो चलन पेशागत असुरक्षाको अवस्था पनि हो । सायमी थप्छन्, ‘यौवनका कारण धनाढ्य ब्यापारीलाई श्रीमान बनाएर आफू सुरक्षित हुने यस्तो तरिका पुरानै हो ।’ अर्का समीक्षक तथा पत्रकार यज्ञश पनि पेशागत असुरक्षाकै कारण धनाढ्य ब्यवसायी खोज्नु परेको हुन सक्ने अनुमान गर्छन् । ‘फिल्मी करिअरमा सधैँ टिक्न गाह्रो हुन्छ ।

 राम्रो रोल नपाउने पाए पनि टिक्न गाह्रो भएकाले पनि धनाढ्य खोज्नु परेको हुनसक्छ’ यज्ञश भन्छन्, ‘सबैलाई जेनरलाईज गर्न पनि नमिल्ला । कसैको गम्भीर प्रेम पनि हुन सक्छ ।’ फिल्मी कमाइले कपडा किन्न समेत कठिन हुने टिप्पणी भइरहँदा नायिकाहरुलाई भने आफ्नो स्टारडमको छवि धान्न धौधौ छ । 
त्यसैमाथि सदावहार नायिका बनिरहन लगभग असम्भव नै हुन्छ ।
 उमेर जब परिपक्व बन्दै जान्छ वा करिअर कमजोर बन्दै जाँदा धनाढ्य ब्यवसायी खोजेर विहे गर्नु बाध्यता जस्तै बनेको छ ।

0 comments

Write Down Your Responses