पत्रकारको हत्या, जंगलराज फर्किएको भन्दै विरोध
जेठ १ –
भारतको बिहारमा एक पत्रकारको हत्या भएको छ । दैनिक हिन्दी पत्रिका हिन्दुस्तानका ब्युरो चिफ राजदेव रञ्जनको शुक्रबार बेलुका मोटरसाइकलमा आएका नचिनेका मानिसले गोली हानेर हत्या गरेका हुन् । पाँच जनाको समूहमा आएका आक्रमणकारीले ४२ वर्षका पत्रकार रञ्जनलाई दुई वटा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले कार्यालयबाट मोटरसाइकलमा घर फर्किरहेका पत्रकार रञ्जनलाई बिहारको सिवानमा रेलवे पुल नजिक गोली हानेका हुन् ।
पत्रकार रञ्जनलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाको विभिन्न राजनीतिक दल तथा पत्रकारले विरोध गरेका छन् । बिहारका पूर्व मुख्यमन्त्री जीतनराम माझोको पार्टी हिन्दुस्तानी अवाम मोर्चाले मुख्यमन्त्री नितिश कुमारको राजिनामा मागेको छ । बिहार विधानसभाका विपक्षी नेता प्रेम कुमारले विज्ञप्ति निकालेर सरकारले राज्यको चौथो अंगको पनि सुरक्षा गर्न नसकेको भन्दै विरोध गर्नुभएको छ ।
उहाँले बिहारमा फेरि जंगलराज फर्किएको दाबी गर्नुभएको छ । पत्रकार रञ्जनको हत्यामा संलग्नको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses