एक किलो बोकाको मासुलाई ४ हजार !

२०७३ जेष्ठ ४ मंगलवार 
चितवनः बोकाको एक किलो मासुको मूल्य कति पाँचसय, ६ सय, वा ८ सय । ठाउँ अनुसार फरक-फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच नै भइसक्यो । 
 पश्चिम चितवनको जगतपुरबाट नुवाकोटका अमृत तिवारीले एउटा ८० किलोको प्योर बोयर (क्रस नगरेको शुद्ध बोयर) जातको बोकालाई रु तीन लाखमा खरिद गरेर लगे । उनले अझै केही बाख्राको समेत माग गरेका छन् । 

काठमाडौँका कल्पदीप राईले ८२ किलोको बोका तीन लाख नौ हजार बुझाएर लगे । ‘म सँग एउटा बोका छ, त्यसलाई नौ लाख दिँदा पनि दिएको छैन,’ जगतपुरका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्काले भने, ‘यो बोका ब्याडका लागि राखेको छु ।’ पन्चानब्बे किलोको उनीसँग भएको त्यो बोकाको लागत मूल्य करिव ५ लाख छ । यो एउटा उदाहरण मात्रै हुन् ।
 अलि ठूला बोकाको मूल्य प्रतिकिलो ६ हजारसम्म पर्ने जगतपुरमा बोयर जातका बाख्रा पाल्दै आएका व्यवसायी खड्काले बताए । यो दुईवटा बोका अलि सस्तोमा बेचिदिएको उनको भनाइ छ । ‘एकसय प्रतिशत प्योर बोयर बोकाको प्रतिकिलो मूल्य रु पाँच हजार पर्छ, ग्रेड छुट्याएर राखिएको सबैभन्दा राम्रो बोकाको प्रतिकिलो ६ हजारभन्दा बढी पर्छ,’ खड्काले भने ।
 विसं २०७० देखि चितवन सदरमुकाम भरतपुरबाट २० किमी पश्चिम जगतपुरमा खड्काले ‘जगतपुर एग्रो प्रालि’ सञ्चालन गरेका छन् । दक्षिण अफ्रिकाबाट उनले बोयर जातको बाख्रा ल्याएर व्यावसायिक बाख्रापालन थालेका हुन् । ‘अहिलेसम्म बीउ उत्पादनमै ठिक्क छ,’ खड्काले भने, ‘पछि फस्टाउँदै जाँदा भने अन्य खसीबोका सरह मासु दिन सकिन्छ होला ।’ 
 यो जातको बाख्रा छिटो बढ्ने र तौल राम्रो हुने भएकाले व्यावसायिक भएपछि भने लोकल खसी बाख्राको मूल्यमा दिन सकिने सम्भावना रहेको उनको भनाइ छ । अहिले उनले बीउ उत्पादनकै लागि बोबा बाख्रा बेचिरहेका छन् । दक्षिण अफिकाबाट ल्याएर यो जातको बाख्रा पाल्ने आफू नै पहिलो भएको दाबी गर्ने खड्काले अहिले करिब रु दुई करोड लगानीमा बाख्रापालन थालेको बताउनुभयो ।
 सुरुमा उनले १७ वटा प्योर बोयर जातका बोका बाख्रा दक्षिण अफ्रिकाबाट ल्याएका हुन् । चारवटा बोकालाई १३ लाख र १३ वटा अन्य बाख्रा ल्याउँदा ३९ लाख लाग्यो । खड्काले यो वर्ष अझै नयाँ ५० वटा ल्याउन लागेका छन् । बाख्रा ल्याउँदा भाडा नै एउटा बोकाको ७० हजार लागेको स्मरण सुनाउँदै उनले १० प्रतिशत भ्याटलगायत पैसा तिर्नुपरेको बताए । 
 मुख्यगरी यो जातका बाख्रामा बोसो कम हुने, तौल चाँडो बढ्ने, खाँदा मासुपनि राम्रो हुने भएकाले अरु भन्दा फरक भएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्की बताए । सरकराले ल्याएको सहुलियत ब्याजको एक करोड रकम ल्याएर खड्काले यहाँ व्यवसाय सुरु गरेका हुन् । हाल खोरमा १७४ वटा बोका र बाख्रा छन् । 
छ बिगाहा क्षेत्रमा चरनसमेत गरिएको छ । घाँसपालन पनि छ । व्यवस्थित खोरमा पालिएका छन् बाख्रा । उनले अहिलेसम्म १९ लाखको मात्रै बेच्न पाएका छन् । काटेर खान अहिलेसम्म उत्पादन गराउन नसकेको यो बाख्रापालन अहिले विभिन्न जिल्लामा सुरु भएको डा कार्की बताउछन् । जमुनापारी बाख्राको व्यावसायिक पालन भने चितवनको पहाडी क्षेत्रमा फस्टाएको छ । 
विपन्न समुदाय र विशेष गरी चेपाङहरुले त्यस्ता बाख्रा पालेका छन् । तर बोयर जातको भने पालन न्यून छ ।

0 comments

Write Down Your Responses