नेपालमा राजनीतिक घेराबन्दी गर्न खोज्नु भारतको अक्षम्य अपराध

आइतबार, २६ बैशाख, २०७३ 
बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका प्रोफेसर डाक्टर सुशील पाण्डे नेपाल –अन्तर्राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । त्रिभुवन विश्वविद्यालयमा १६ वर्षभन्दा बढी प्रोफेसर भएर काम गर्दै आइरहेका प्रोफेसर पाण्डेले अमेरिकाको एउवर्न विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका हुन् । 
अन्तर्राष्ट्रिय विषयमा ३६ वर्ष लामो अनुभव संगालेका पाण्डेले हाल इन्सिटच्युट अफ एडभान्स कम्युनिकेसन एजुकेशन एण्ड रिसर्चमा अध्यापन गराउँदै आइरहेका छन् । अन्तर्राष्ट्रिय मामिलामा गहिरो अध्ययन भएका उनले अमेरिकाका केही नाम चलेका विश्वविद्यालयमा समेत भिजिटिङ प्रोफेसरका रुपमासमेत काम गरेका छन् ।
 नेपाल भारत सम्बन्धमा राम्रो जानकार मानिने पाण्डेसँग नेपालीपत्रका लागि रवि अधिकारीले गरेको कुराकानी नेपाल भारत सम्बन्धमा पटक—पटक दरार उत्पन्न हुनुको कारण के हो ? नेपाल र भारतको सम्बन्ध लामो समयदेखि निकै राम्रो पनि होइन र निकै नराम्रो पनि होइन । द्धिपक्षीय सम्बन्धमा बेला—बेला खटपट आइरहेकै हो । 
पछिल्लो अनुभवले नेपाल भारत सम्बन्धलाई केही तीतो अनुभव दिलाएको छ । नेपालको राजनैतिक परिवर्तनसँगै सम्बन्ध तलमाथि हुनु स्वभाविक हो । नाकाबन्दीका कारण हामीले समस्याहरु भोग्नुप¥यो । अदृश्य रुपमा गरिएको नाकाबन्दीले के प्रमाणित गर्छ भने उनीहरु नेपालको नयाँ संविधानसँग खुसी छैनन् । उनीहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको देखिन्छ र खोजेका पनि छन् । जारी संविधान नेपाली जनताको चाहनाअनुसार आएको हो । 
यसमा भारतले टाउको दुखाउनुको कुनै अर्थ छैन । अब संविधानको कार्यान्वयनमा जोड दिनुपर्छ । अरुले के भन्ला भनेर बस्नु आफैलाई कमजोर बनाउनु हो । अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको स्थान ‘हाइली स्ट्राटेजीक लोकसन’मा रहेको छ, ग्लोबल स्ट्राटेजिक हाइवे । उत्तरमा चीन र दक्षिणमा भारत रहेका दुई राजनीति धारका कारण पनि समय—समयमा हाम्रो राजनीतिमा विभिन्न खालका दृश्यहरु देखिन्छन् । भारतका विहार, बैङ्गलोर, उत्तर प्रदेश र नेपालको महेन्द्रनगरदेखि नयाँदिल्ली उत्तिकै नजिक छन् । त्यसका कारण पनि भारत नेपाललाई रणनैतिक महत्वका साथ हेर्ने गरिन्छ । विश्वका अन्य राष्ट्रहरुभन्दा पनि नेपाल र भारतको कुटनैतिक सम्बन्ध केही फरक प्रकारको रहेको छ ।
 नेपाललाई भारतले वैदेशिक नीतिका आधारमा पनि उच्च महत्वका साथ हेर्ने गर्छ । उनीहरुको नेपालप्रति हेर्ने समग्र दृष्टिकोण पनि अरु राष्ट्रलाई हेर्नेभन्दा फरक छ । नेपालको स–सानो विषयमा पनि भारतले किन चासो व्यक्त गर्छ र आफ्नो इच्छाअनुसार व्यवस्थापन गर्न खोज्छ ? भारत र नेपाल ऐतिहासिक, साँस्कृतिक, धार्मिक, राजनैतिक रुपमा गाँसिएका छन् । 
अझ भनौ धार्मिक रुपमा त हामी धेरै नजिक रहेका छौं । त्यही भएर पनि उसले नेपालको सबै विषयमा चासो राख्ने गरेको छ । तर, हामीले उसको चासोको जवाफ कसरी दिन्छौं भन्ने कुरामा सम्बन्ध निर्भर रहन्छ । नेपालको पनि अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नै स्थान छ । नेपाल सानो राष्ट्र भएपनि यसले आफूलाई प्रस्तुत गर्ने दृढताले अरु राष्ट्रहरुसँगको सम्बन्ध निर्धारण गर्छ । 
भारतले नेपालमा गरेको पछिल्लो हस्तक्षेप पनि उनीहरुको नेपालप्रति रहेको असन्तुष्टि नै हो । भारतमा पनि संसदीय व्यवस्था छ । नेपालमा हुने विभिन्न घटनाक्रमलाई लिएर त्यहाँ पनि ठूलो बहस हुनेगर्छ ।
 नेपालले गरेका कतिपय निर्णयले उनीहरुलाई पनि असर पार्ने गर्छ । उनीहरुले गर्ने बहसलाई नेपालले सामान्य रुपमा लिनुपर्छ । तर, नेपालको प्रजातान्त्रिक संविधानलाई लिएर असंसदीय क्रियाकलाप हुनुलाई राम्रो मान्न सकिदैन । हामीले संविधान जारी गर्दा केही गम्भीर विषयमा ठूला निर्णयहरु गरेका छौं । नेपालले गरेका यस्ता निर्णयहरु दबाउन उनीहरुले चलखेल गरेकै हो । नेपालले भारतको दबाबमा नपरी जुन निर्णयहरु गरेको छ तिनीहरु स्वागतयोग्य छन् । 
 नेपालप्रति भारतको चासो उसको सुरक्षा चिन्ता मात्रै हो कि यहाँको स्रोत साधनमा आँखा लगाएको हो ? सन् १९५० को शान्ति सम्झौता पश्चात नेपाल र भारतबीच रहेको खुल्ला सिमानाले दुवै राष्ट्रलाई फाइदा गरेको छ । भारतका केही विश्लेषकहरु भन्छन् भारतले भन्दा नेपालले खुल्ला सिमानाको कारण धेरै फाइदा लिइरहेको छ । 
केही नेताहरु चाहन्छन् कि, नेपाल र भारतबीच खुल्ला सिमाना रहिरहोस् । सिमानामा हुने क्रियाकलापहरुको रेकर्ड राख्नुपर्ने उनीहरु बताउँछन् । खुल्ला सिमाना भनेका एकाअर्काप्रतिको विश्वास हो तर बेलाबेलामा हुने घटनाक्रमले नमिठो अनुभव दिलाउने गरेको छ । 
 त्यसकारण पनि सीमामा हुने गतिविधिलाई कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा दुवै पक्षले गम्भीर भएर सोच्नुपर्छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबैको रेकर्ड हुनुपर्छ । भारत र नेपालबीच भएको सन्धिलाई उपलब्धिमुलक बनाउने जिम्मा दुवै राष्ट्रको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय आतंकवादी गतिबिधि पनि बढ्दो छ । यसका लागि केही खुल्ला सिमानाबाट पर्ने नकारात्मक पक्षलाई हेर्ने बेला आइसकेको छ । खुल्ला सिमाना बन्द गर्नुभन्दा पनि खुल्ला सिमानाका कारण भएका समस्याहरु हल गर्नुपर्छ । नेपालले चीनलगायत अरु मुलुकसँग सम्बन्ध बलियो बनाउँदा भारतको मन दुख्नाको कारण के हुनसक्छ ? मलाईं त्यस्तो लाग्दैन । हामी इमोशनल्ली भारत र चीनसँग नजिक छौं । हामी दुवै राष्ट्रलाई शंकाले हेर्छौ । यो साना देशहरुको ‘सिनड्रोम’ हो । यो प्राकृतिक पनि हो । केही नेपाली जनतालाई थाहा छ कि हामी सार्वभौम राष्ट्रका जनता हौ र दुवै राष्ट्रलाई हेर्ने नजरिया कस्तो हुनुपर्छ । इमोशनले केही हदसम्म हो तर इमोशनको राजनीतिमा काम चल्दैन । एउटा स्टेटले अर्को स्टेटलाई गर्ने व्यवहारमा इमोशनको कुनै भूमिका हँुदैंन । हामीले कसरी भारत र चीनलाई व्यवहार गर्छौ त्यो राजनैतिक तथा कुटनैतिक व्यवहारमा भर पर्ने कुरा हो । यसमा इमोशनको कुनै रोल छैन । भारतको विरुद्धमा केही आन्तिरक खेलहरु नेपालमा भइरहेका छन् भन्नु कुनै ठुलो कुरा होइन । यो त चीनले पनि भन्छ । यस्ता चलेखलका कुराहरु उठ्नु स्वभाविक हो । पश्चिमी मुलुकहरु भारतलाई प्रयोग गरेर चीनमा घुस्न चाहन्छन् । 
त्यसका लागि भारतमार्फत नेपालको प्रयोग भइरहेको छ । नेपालमा भारतको भन्दा पश्चिमाहरुको चासो प्रधान हो त्यसैअनुसार भारतले चलखेल गरिरहेको छ भन्ने केही मानिसहरुको विश्लेषण छ । यो कत्तिको बलशाली तर्क हो ? भारतसँगको बलियो सम्बन्धका कारण अमेरिकाले राजनैतिक रणनीति चीनविरुद्ध बुन्ने गरेको कुरा हामीले पहिल्यै देखि सुन्दंै आइरहेको हो । यसको मतलब यो होइन कि नेपालको भूमी प्रयोग गरेर पश्चिमी राष्ट्रहरुले नेपालमा ठूलै चलखेल गरिरहेका छन् । चीन एउटा शक्तिशाली राष्ट्र हो । चीनको आन्तरिक राजनैतिक स्वरुप हेर्ने हो भने पनि उच्च एकता रहेको छ । तेस्रो पार्टी नेपालमा रहेर चीनबारे त्यस्तो भ्रम हालसम्म फैलाउने काम भएको जस्तो लाग्दैन । 
विश्वबजारमा चीनको ठूलो योगदान रहेको छ । अमेरिका र चीनको कुरा गर्ने हो वार्षिक खरबौ रुपमाभन्दा बढीको कारोबार हुनेगर्छ । यसले पनि के पुष्टि गर्छ उनीहरुको सम्बन्ध कुन कारणले कस्तो बनेको त्यसमा भरपर्ने कुरा हो । नेपाल भारत र चीनसँग राम्रो सम्बन्ध हरदम स्थापना गर्न चाहन्छ र छ पनि । सरकारको प्रतिपक्षमा रहेका बेला केही नेताहरु चीन र भारतको सम्बन्धलाई लिएर बोल्ने गर्छन् । त्यसका कारण पनि यस्तो अर्थ लाग्नसक्छ । 
यस्ता कुरा भारतमा पनि हुन्छ चीनमा पनि हुन्छ । अहिले भारतले अरु मुलुकसँग मिलेर नेपाललाई घेराबन्दी गर्न खोजेको कुराले त माथिको तर्कलाई ठाउँ दिन्छ नि होइन ? यो निकै दुःखदायी कुरा । पश्चिमा राष्ट्रहरुसँग मिलेर नेपालको संविधानलाई असफल बनाउने कोसिस भारतले गरेकै हो । तर भारत यस विषयमा भने हारेको छ । ठूलो बहुमतका आधारमा जनताको साथ पाएर आएको नयाँ संविधान हो । भारतले यो मामिलामा अन्तर्राष्ट्रिय राजनीतिमा आफूलाई कमजोर रुपमा प्रस्तुत ग¥यो । भारतीय चलखेललाई ठाउँ दिएको त नेपालका राजनीतिक दलहरुले नै हुन् ।
 आगामी दिनमा यसको व्यवस्थापन कसरी हुन सक्छ? नेपालको भारतसँगको नजिकपन आजको होइन । ऐतिहासिक सम्बन्ध रहेको छ । हामीबिच एउटा डरले जरो गाडेर बसेको छ । भारतका कारण नेपालमा उ भयो त्यो भयो । यो एकप्रकारको ‘फोबिया’ हो । हामी आफ्नो काम गर्ने विश्वासमा कति रमाउन सक्छौं त्यसमा भर पर्ने गरौं । हो, भारतको हस्तक्षेप बेला—बेलामा हुनेगर्छ । तर त्यसको प्रश्रय दिने काम हामीले नै गरेका हौ । दोष अरुलाई दिने भन्दा पनि आफ्नो कमजोरी हटाउने प्रयास हामीमा अझै विकास भइसकेको छैन । यसले दुवै राष्ट्रलाई फाइदा गर्दैन ।
 भारतीय राजनीतिक नेतृत्व र त्यहाँको कर्मचारीतन्त्रको नेपालप्रतिको वुझाइमा फरक छ भन्ने गरिन्छ । त्यसो हो भने, नेपालका राजनीतिक नेतृत्व किन भारतीय राजनीतिक नेतृत्वसँग सिधा सम्बन्ध स्थापित गर्न सक्दैन? हामीले के बझ्नुपर्छ भने हामी क्षेत्रीय रुपमा एकीकृत हुनुपर्छ । अफगानिस्तानलाई सार्कको सदस्य बनाउनु पनि ठूलो उपलब्धि हो । संगठनहरुबीच विभिन्न विषयहरुमा जस्तै राजनैतिक, व्यापारिक रुपमा चलखेल गुर्नुपर्छ । यसले देशहरुबीचको सम्बन्ध अलि दरिलो पार्ने काम गर्छ । 
अरु सार्क राष्ट्रहरुभन्दा पनि भारतमा विकासका कामहरु धेरै हुन थालेका छन् जसका कारण पनि उसलाई धेरै स्रोतहरुको आवश्यकता पर्दै आइरहेको छ । साना राष्ट्रहरुले यसबाट फाइदा लिन सक्नुपर्छ । बेला—बेलामा नेपालमा हस्तक्षेप हुने हल्ला हुने गर्छन् । तर यो भ्रम फैलाउने काम मात्र गरिएको हो । यो सम्भावना छैन । नेपाल एउटा उच्च कम्प्लिकेटेड सोसाइटी हो । नेपालीहरुलाई थाहा छ कोसँग कति दुरीमा राखेर सम्बन्ध राख्नुपर्छ । दक्षिण एसियाको कुरा होस् या त्योभन्दा बाहिर । नेपालले संविधान जारी गरेपछि ओली सरकारले ‘ब्लकेट’ शब्दको उच्चारण गर्न चाहेन । कतिले यो ‘ब्लकेट’ भने कतिले ‘ब्लकेट’ भन्न रुचाएनन् । तपाई के लाग्छ किन यस्तो दोधारेपन देखियो ? यो नाकाबन्दी नै हो । ओली सरकारले यो शब्दको प्रयोग गर्न चाहेन तर यो नाकाबन्दी नै हो । विनासकारी भुकम्प पश्चात नेपाल जुन समस्याबाट गुज्रिरहेको थियो भारतले नेपालमा नयाँ संविधानको घोषणा गरे लगत्तै गरेको निर्णय अमानवीय हो । भारतले अक्षम्य अपराध गरेको छ । यो नेपालले कहिल्यै पनि भुल्नु हुँदैन । अन्तर स्टेट सम्बन्धमा भारतले यसो गर्नु जरुरी नै थिएन । जुन समयमा भारतले यस्तो निकृष्ट कार्य गरेको छ निर्दयीपनको पराकाष्ठ नै हो । २१ औं शताब्दीमा गरिएको यस्तो लाजलाग्दो, अमानवीय क्रियाकलाप भारतले देखाउनुले के पुष्टि गर्छ भने उनीहरुको कुन—कुन विषयमा कमजोर रहेका छन् । यसले कुटनैतिक मामिला बिगार्ने, सानो राष्ट्रमाथि शक्तिको प्रर्दशन गर्नु कुनै अर्थ छैन । सारा मुलुक जरजर अवस्थामा रहेको थियो । यो राजनीति नुबझेकाले गरेका हुन् । यो देशको माया मान्ने मानिसहरुले कहिल्यै गर्दैनन् । संघीयता त एउटा सानो विषय हो । यसलाई लिएर यत्रो हंगामा गर्नु अर्थ छैन । 
 अबका दिनमा नेपाल—भारत सम्बन्धलाई कसरी द्वीपक्षीय हितमा प्रयोग गरी सन्तुलित गर्न सकिएला? भारत र नेपालको सम्बन्ध धेरै राम्रो हुनसक्छ । भारतले लगानी गर्ने ठाउँहरु खोजिरहेको छ । विभिन्न विकासका क्षेत्रमा भारतको नेपालप्रति चासो त्यसै भएको होइन । औद्योगिक विकास, स्कील्ड मेनपावरलगायत अन्य विषयमा धेरै क्षेत्रमा भारतले सहयोग गर्न सक्छ । तर, नेपालले उनीहरुको मोटिभलाई बुझेर सहकार्य गर्नुपर्छ । 
व्यापारिक हिसाबले आयात निर्यातमा पनि नेपाल र भारतले गुणात्मक तथा संख्यात्मक रुपमा बढाउनुपर्छ । नेपालको समस्या भनेको भारतसँगमात्र धेरै रहेको छ । नेपालले अन्य राष्ट्रहरुसँग पनि व्यापारिक सम्बन्ध स्थापित गर्नुपर्छ । साना राष्ट्रहरुका लागि बनेका सन्धिहरुको आधारमा रहेर त्यसको कार्यान्वयनका लागि दबाब दिने काम गर्न सक्नुपर्छ । 
भारतले जुन नाकाबन्दी ग¥यो त्यो ट्रान्जिट राइटको ठाडो उल्लंघन हो । यसबारे नेपालले बोल्न सक्नुपथ्र्यो । तर बोलेन । भारतले जुन नाकाबन्दी ग¥यो भारत पूर्ण रुपमा असफल भएको छ । नाकाबन्दी गरेर नेपाललाई झुकाउन पश्चिम राष्ट्रहरुको सहयोग पनि खोजेकै हो तर सकेन । यसरी हुँदैन भन्ने कुरा भारतले बुझ्यो । भारतले अझ भनौ मोदी सरकारले यसबाट पनि धेर ै राजनीति बुझ्नु आवश्यक रहेको छ ।
 नेपाल कुटनीतिक रुपमा कमजोर किन देखियो । कुटनैतिक पहल गर्ने मान्छे नै कमजोर भएर हो र? हाम्रो कुटनीतिमा धेरै कमजोरी रहेका छन् । हाम्रो विदेश नीतिको संरचनामा परिवर्तन गर्नु आवश्यक रहेको छ । एन पिपुलहरुलाई ट्रेन गुर्न आवश्यक रहेको छ । उनीहरुलाई विभिन्न भाषाको ज्ञान हुनुपर्छ । भाषिक रुपमा उनीहरुले अन्तर्राष्ट्रिय रुपमा सम्बोधन गर्ने हुन सक्नुपर्छ ।
 पब्लिक डिब्लोमेसी, वैदेशिक नीति, डिप्लोम्याटहरुको नियुक्तिजस्ता विषयहरुमा परिवर्तनको आवश्यकता देखिन्छ । हालै भएको राजदूतहरुको नियुक्तले पनि देखाउँछ हामी कुटनीतिक रुपमा कति कमजोर मानिसहरुलाई नियुक्ति गर्दै आइरहेका छौं । मलाई माफ गर्नुहोस् तर म भन्छु यो नियुक्तिहरुले कुनै उपलब्धिका काम गर्ने छैनन् ।
 सरकारले फेरि पनि ठूलो गल्ती गरेको छ । यसले देशको कुटनैतिक विकासमा कुनै मद्धत गर्दैन । नेपालमा पार्टी लाइनभन्दा बाहिर पनि यस्ता अनुभवीहरु मानिसहरु रहेका छन् । जसले कुटनीतिक रुपमा सुधारका लागि ठूलै काम गर्न सक्छन् तर उनीहरुभन्दा पनि पार्टीमा गुन लाएका मानिसहरुलाई नियुक्ति गर्नु निकै दुःखदायी कुरा हो ।
 कुटनीतिको समान्य ज्ञान नहुनेलाई पनि राजदूत नियुक्त गुर्न ठूलो गल्ती हो नेपाल सरकारको । कम्तिमा डिप्लोमेसी बुझेको मानिस नियुक्ति गर्न सक्यो भने नि नेपालजस्तो साना राष्ट्रहरुलाई ठूलो फाइदा हुनेछ । ठाउँमा बोल्न र आफ्नो दक्षता देखाउने मानिसभन्दा पनि पार्टीको आडमा हुने नियुक्तिका कारण नेपालले सधै समस्या भोगिरहेको छ ।

0 comments

Write Down Your Responses