७२ वर्षिया महिलाले छोरा जन्माएपछि..

नयाँ दिल्ली, वैशाख ३१ -
 भारतमा एक ७२ वर्षिया महिलाले छोरा जन्माएपछि उनको उपचार गर्ने अस्पताल र डाक्टरमाथि प्रश्न उठेको छ । भारतको हरियाणा निवासी दालजिन्दर कौरले ७२ वर्षको उमेरमा गत महिना छोरो जन्माएकी थिइन् । उनले आइभिएफ अर्थात इन्भेट्रो फर्टिलाइजर उपचार प्रविधिमार्फत बच्चा जन्माएकी हुन् । उनका पति मोहिन्दर सिंह गिल हाल ७९ वर्षका छन् ।
 ७२ वर्षको उमेरमा पनि सन्तान जन्माएपछि उनलाई आइभिएफ गर्न सहयोग गने अस्पताल र डाक्टरमाथि प्रश्न उठेको छ । भारतमा निसन्तान दम्पतीले आइभिएफप्रविधिमार्फत सन्तान जन्माउन सक्ने भएपनि उनीहरुको निश्चित उमेर तोकिएको छ । भारतीय मेडिकल काउन्सिलका अनुसार त्यहाँको कानुनले आइभिएफ प्रविधिबाट बच्चा जन्माउन चाहने दम्पत्तिको उमेर दुवैको जोड्दा १०० वर्षभन्दा बढी हुन नहुने व्यवस्था छ । 
तर अहिले सन्तान जन्माउने कौर र उनका पतिको उमेर जोड्दा १ सय ५१ वर्ष हुन्छ । उनीहरुले बच्चा जन्माएको यस विषयले भारतमा आइभिएफको उपचार र बच्चा जन्माउने प्रक्रियामा नैतिक प्रश्न खडा गरिदिएको छ भारतका आइभिएफ विज्ञहरुको धारणा छ । कौरले दुई वर्षदेखिको उपचारपछि गत महिना बच्चा जन्माएको र बुढेसकालामा सन्तान प्राप्त हुँदा खुसी लागेको बताएकी थिइन् । ती दम्पतीले आफ्नो छोराको नाम अर्मान राखेका छन ।
 उनीहरुले आफ्नो उमेर खुलाउन नचाहेपनि अस्पतालमा भर्ना हुँदा दर्ता गरिएको विवरणबाट उमेर खुलेको हो । कौरले आफूलाई यसरी सन्तानका लागि गरेको उपचारको विषयलाई लिएर आफ्नो समाजले गलत काम गरेको भनेर आलोचना गर्ने गरेको पनि स्वीकार गरेकी छिन् । सन्तान नभएपछि उनले लामो समयदेखि सन्तान प्राप्तीका लागि प्रयास गरिरहेकी थिइन । 
‘मलाई धेरैले गलत गरिस भन्थे’ उनले भनिन्न ‘तर अहिले आएर भने म सही थिएँ भन्ने कुरा प्रमाणित पनि भएको छ ।’

0 comments

Write Down Your Responses