पूर्वको मनोरम शहर इलाम हनिमुन गन्तव्य पनि बन्दै

पूर्वको मनोरम शहर इलाम अब प्रेमील शहर पनि बन्दैछ । गर्मीको उकुसमुकुस छल्नेहरु लागि शीतल गन्तव्य बनेको इलाम अब मायालु जोडीहरुको माया साटासाट गर्ने सम्झन लायक शहर पनि बन्दैछ । प्राकृतिक कार्पेट झै ओछाइयाइएका इलामको चियावारी आफैमा अनुपम उपहार बन्दा वैवाहिक वन्धनमा बाँधिएका जोडीको लागि हनिमुन मनाउने मिठो गन्तव्य पनि बन्न पुगेको छ ।
 लगनगाँठोमा बाँधिएपछि वा मायालुको मायामा उनिएपछि सुन्दर र एकान्त स्थानको चाहना सबैमा हुन्छ । एकसाथ जीवन बिताउने प्रण गरेका जोडीका लागि त एकान्त र सुन्दर स्थान अझ महत्वपूर्ण हुन्छ । इलाम पनि त्यस्ता जोडीहरूको अब्बल गन्तव्यभित्र पर्न पुगेको छ । हरियाली वातावरण र स्वच्छ हावापानी भएका कारण लगनगाँठो बााधेपछि इलामलाई हनिमुन गन्तव्य बनाउनेहरूको संख्या बढेको तथ्यांकहरूबाट पनि पुष्टि हुन्छ ।
 राजधानी काठमाडौंबाट पुगेका अधिकांश नवविवाहित जोडीहरुले इलामलाई आफ्नो ‘हनिमुन डेस्टिनेसन’ स्वीकारेका छन् । दिनहुँ र छिनछिनमा बदलिरहने इलामको मौसमले जोडीहरूलाई आनन्द माथि आनन्द थप्ने गरेको छ । वन भोजका लागि उत्कृष्ट गन्तव्य बनेको पूर्वाञ्चलको चर्चित स्थल कन्याममा सबैभन्दा धेरै प्रेमजोडी भेट्न सकिन्छ ।
 चाडपर्वको सदुपयोग गर्न इलाम पुग्नेहरूको संख्या पनि बढ्दैछ । पशुपतिनगर, बौद्धधामको सल्लाघारी, पञ्चकन्या मन्दिरको दर्शन र नजिकै करफोकको सल्लाघारीका साथै इलाम सदरमुकाममा रहेका चियाबारी अनि त्यसबीचमा रहेको लभडाँडा पनि प्रेमजोडीका लागि उपयुक्त छ ।
 त्यतिमात्र नभएर पाथीभरा मन्दिरमा प्रेमको कसम खाने साथै विवाह बन्धनमा गाँसिएर इलाम घुम्नेहरूको संख्या पनि वृद्धि भैरहेको छ । इलाम सदरमुकामबाट करिब १५ किलोमिटरको दूरीमा रहेको माईपोखरी प्रेमजोडीका लागि उपयुक्त मानिएको छ । माइपोखरी नजिक रहेको जसबीरे चिया बगान पनि जोडीहरूको रोजाइमा पर्न थालेको छ । 
चियाबारी ठूलो क्षेत्रफलमा फैलिएकाले प्रेमजोडीलाई जस्तोसुकै क्रियाकलाप गर्न पनि अप्ठेरो छैन तर समाजलाई नपच्ने दृश्यहरू बढ्दै गएकाले कन्यामका पर्यटनकर्मी अनिष राई दुख व्यक्त गर्छन् । भारतीय पर्यटकहरू बढी मात्रामा आउने सीमावर्ती अन्तुडाँडामा होम स्टेको सुविधा छ । सुर्योदयको दृष्यावलोकन, अन्तु पोखरीको बोटीङसँगै भर्खरै निर्माण भएको अन्तु कटेज जस्ता सुविधायुक्त बासस्थानहरुले पनि अन्तु हनिमुन गन्तव्य बन्न सहयोग पु¥याएको छ । 
इलामका हरेकजसो स्थान उचाइमा रहेकाले तराईका फाँटहरू, हिमालका शृंखला तथा पहाडी हरियालीका दृश्यहरू हेर्न पाइने भएकाले बाह्रै महिना पर्यटकहरू आउँछन् । चिया बगानमा मज्जा लिन आउने पर्यटकले घन्टौं बितेको पत्तै पाउँदैनन् ।

0 comments

Write Down Your Responses