भोलिदेखि कक्षा ११ परीक्षा सुरु हुँदै, तीन लाख ६९ हजार परीक्षार्थी

१ जेठ, भक्तपुर। उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले भोलि आइतबार जेठ २ गतेदेखि कक्षा ११ को परीक्षा देशभर सुरु गर्ने भएको छ । परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी हुने भएका छन् ।


परीक्षा १२ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने उनले परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए । परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरेको छ । 
 परीक्षा सञ्चालन अवधिभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषद्बाट खटिएका जिम्मेवार व्यक्तिबाहेकका व्यक्तिलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्णरुपमा निषेध गरिएको छ । यस्तै वैशाख २० गतेबाट देशभर सुरु भएको कक्षा १२ को परीक्षा हिजोबाट सम्पन्न भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले देशभर कुल ९२१ परीक्षा केन्द्रमार्फत वैशाख ३१ गतेसम्म कुल ८२ वटा विषयको परीक्षा सञ्चालन गरेको थियो ।
 परीक्षामा तीन लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ भने परीक्षा मर्यादा विपरीत सामूहिक रुपमा चोरी भएको पाइएमा त्यस्तो परीक्षा केन्द्र नै खारेज गर्ने व्यवस्था गरिएको छ । 
परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माले शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय उपनिर्देशक, क्षेत्रीय प्रशासक, जिल्ला शिक्षा अधिकारीलगायत मन्त्रालय मातहतका विभिन्न व्यक्तिको नेतृत्वमा ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

0 comments

Write Down Your Responses