सरकार तत्काल नढल्ने, प्रचण्ड पछि हटे

२०७३ बैशाख २३ बिहीवार 
यही सरकारले नीति तथा कार्यक्रम ल्याउने काठमाडौँः केपी ओली नेतृत्वको सरकार तत्काल नढल्ने भएको छ । सत्तारुढ एमाले–एमाओवादीले यो सरकार कम्तिमा नीति तथा कार्यक्रम प्रस्तुत नहुँदासम्म कायमै रहने सहमति गरेका छन् । 
 बिहीबार बिहान नेपाली कांग्रेस र एकीकृत माओवादीका नेताबीचको भेटपछि बसेको एमाले–एमाओवादी बैठकले यस्तो सहमति जुटाएको हो । बुधबार आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस सहमत भएको भन्दै बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्ड रातारात आफ्नो निर्णयबाट पछि हटेपछि ओली सरकार कायमै रहने संकेत देखिएको हो ।
 बिहीबार बिहान बिमलेन्द्र नीधि र अमरेशकुमार सिंहलाई लिएर लाजिम्पाट पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाओवादी अध्यक्ष प्रचण्डले तत्काल ओली सरकार दिएको समर्थनबाट आफू पछि हट्न अप्ठेरो परेको बताएका छन् । देउवाले आफूले समर्थन गरिसकेकाले सरकार गठन अघि बढाउन गरेको प्रस्तावमाथि भएको छलफल सकारात्मक निचोडमा नपुगेपछि तत्काल ओली सरकार ढाल्ने कांग्रेसको योजना असफल हुने देखिएको छ । 
करिब ४५ मिनेटलामो भेटवार्ताका क्रममा देउवाले नयाँ सरकार गठनका लागि ओली विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्न अग्रह गरेका थिए । देउवाको उक्त प्रस्तावले संसदमा संकट आइपर्ने भन्दै दाहालले अस्वीकार गरेका हुन् । दाहालले प्रस्तावले संसदमा झडप हुने सम्मको अवस्था सिर्जना हुने भएकाले त्यो बाटोबाट अगाडि नबढ्नु उपयुक्त हुने तर्क गरे ।
 भेटका क्रममा देउवाले ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव आफैँले नल्याउने बताउँदै त्यसका लागि प्रचण्डलाई अघि सर्न आग्रह गरे । स्रोतका अनुसार प्रचण्डले यो निर्णयका कारण देश राजनीतिक अस्थिरतातर्फ जाने र त्यसको दोषी पनि आफैँ हुनुपर्ने भन्दै देउवाको प्रस्ताव अस्वीकार गरेका हुन् । प्रचण्डले देउवाको प्रस्ताव अस्वीकार गरेपछि ओली नेतृत्वको सरकारले कम्तिमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउने भएको छ । 
 कांग्रेस र एकीकृत माओवादी नेताको बिहिबारको भेटवार्ताले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने बुधबारको एमाओवादीको औपचारिक निर्णयपछि सुरु भएको सत्ता परिवर्तनको खेल तत्कालका लागि समाप्त भएको छ ।

0 comments

Write Down Your Responses