ढुंगा बोक्दै सुटिङ गर्दै धुर्मुस-सुन्तली
२०७३ जेठ ४ गते
काठमाडौं ।
वैशाख २९ देखि सुरु भएको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम तिव्र गतिमा अघि बढाउन सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ढुंगा बोग्दै सुटिङ गर्दै छन् । दसैं अगाडि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ बस्ती निर्माणको कामतिव्र रुपमा अघि बढाएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
स्थानीयबासीसँगै धुर्मुस र सुन्तली समेत बस्ती निर्माणमा बिहानदेखि बेलुका ११ बजेसम्म खटिरहेका छन् । हाँस्य टेलिश्रृंखला (मेरी बास्सै)को सुटिङ समेत गिरान्चौरमै गरेर बस्ती निर्माणमा सकेसम्म बढी समय दिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल बताउँछन्
सिन्धुपाल्चोकको मेलम्ची ८ गिरान्चौरमा एकिकृत बस्ती बनाउन अहिले भूकम्पले भत्काएको भग्नावशेष हटाउने र जग्गा सम्याउने काम भइरहेको छ ।
बस्ती निर्माणको काम तिव्र गतिमा अघि बढ्दै गर्दा आर्थिक सहयोग जुट्ने क्रम पनि जारी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिइन् । हालसम्म
फाउण्डेशनको खातामा गिरान्चौर बस्ती निर्माणका लागि सहयोगी हातहरुबाट २७ लाख ५४ हजार रुपैँया आर्थिक सहयोग प्राप्त भएको उनले जानकारी दिइन् । यस्तै गोफण्डमी मार्फत करिब १६ लाख रुपैँया बस्ती निर्माणका लागि सहयोग जुटेको उनको भनाई छ ।
श्रमदानसहित चार करोड बढी लागत लाग्ने अनुमान गरिएको बस्ती निर्माणका लागि अझै थुप्रै सहयोगीहात जरुरी रहेको उनको भनाई छ । आर्थिक सहयोगसँगै बस्ती निर्माणका लागि जो कोहिले सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्ता, खाद्यान्न लगायतका सामग्री पनि सहयोग गर्न उनीहरुले अपील गरेका छन् ।
जति छिट्टो सहयोग जुट्यो त्यति नै छिटो भूकम्प पिडितले नयाँ घर पाउने उनीहरुको भनाई छ । ‘काम सुरु गरिसक्यौँ अहिले सम्म जुटेको सहयोग बस्ती निर्माण सम्पन्न गर्न अपुग छ, यद्यपी सहयोग जुट्ने आँट र विश्वासले गिरान्चौर एकिकृत बस्ती निर्माणलाई रातदिन नभनी खटेर तिव्र गतिमा अघि बढाइरहेका छौँ’ धुर्मुसले भने ।


0 comments
Write Down Your Responses