‘चीनले कोरला नाका खोल्न तयारी थाल्यो’
वैशाख २०, २०७३- उत्तरतर्फका नाका खुलाउन चीनले आफ्नो तर्फबाट तयारी थालेको संसदको उद्योग वाणिज्य हित संरक्षण समितिका सदस्यहरुले बताएका छन् ।
चार दिनसम्म कोरला नाकाको अवलोकन गरेर सोमबार बिहान फर्केको समितिको टोलीले चीनको स्थानीय निकायबाट कोरला नाका खुलाउनका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए ।
‘भारतको नाकाबन्दीपछि जुन प्रकारले उत्तर तर्फका नाका खुलाउने हल्ला नेपालमा चल्यो, त्यो हल्ला लगत्तै चीनको स्थानीय प्रशासन कोरला नाका खुलाउन धमाधम तयारीमा जुटेको रहेछ,’ समितिका टोली संयोजक महेन्द्र शेरचनले कान्तिपुरसँग कुरा गर्दे भने, ‘हामीले सडक बिस्तार मात्र गर्न सक्यौं भनेपनि कोरला नाका खोल्न ठुलो धनराशी चाहिँदैन ।
’ चीनतर्फ सुरुङ मार्गदेखि सुख्खा बन्दरगाह लगायतका स्थान बनाउने काम भइरहेको उनले बताए ।
‘म यहि जन्मेको र हुर्केको व्यक्ति हुँ, तिब्बत तर्फ के भइराखेको छ भन्ने कुरा मलाई सजिलै जानकारी आउँछ,’ शेरचनले भने, ‘सिमानाभन्दा अलिपर चीनतर्फ नाका खुलाउने आवश्यक तयारी भइरहेको छ ।’ चीनले सडक लगायत २० प्रकारका भौतिक संरचना निर्माण गरिरहेको जानकारी उनले दिए । ‘हामीले मात्र सडक राम्रो बनाउन सक्यौं भने पनि यो नाका धेरै सहज हुनेछ,’ उनले भने ।
अब नेपाल सरकारले तुरुन्त सडक सुधार गरेर कोरला नाका खोल्नका लागि चीन सरकारसँग फेरि वार्ता गर्नुपर्ने बताए ।
टोलीमा शेरचन लगायत सांसदहरु नेपाली कांग्रेसका चन्द्र महर्जन, एमालेका नागेन्द्र चौधरी, एमाओबादीका जनक बुढा, राप्रपा नेपालकी शयन्द्र बान्तवा र संसद सचिबालयका सहसचिब सुदर्शन खड्का सहभागी थिए । टोलीले कोरला नाका खोल्न सकिने सम्भावना र उपायका विषयमा सरकारलाई लिखित प्रतिवेदन बुझाउनेछ ।

0 comments
Write Down Your Responses