एनसेललाई कर तिराउन सडकदेखि सदनसम्म दबाब

२०७३ बैशाख २६ आईतवार 
काठमाडौं: एनसेल खरिदबिक्रीमा लाग्ने कर तिराउन सोसल मिडिया हुँदै सडकदेखि सदनसम्म दबाब सिर्जना भएको छ । सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ताले सुरु गरेको 'नो ट्याक्स नो एनसेल' अभियान पहिलो नम्बरमा पुगेको छ, जुन कर तिराउन सशक्त अभियानका रूपमा देखिएको छ । ट्विटर प्रयोगकर्ताले सुरु गरेको अभियानअन्तर्गत कर नतिर्दासम्म एनसेलको सिम नचलाउने, एनसेल नम्बरमा फोन नगर्ने र नउठाउने सञ्चालन हुँदै गएको थियो ।
 शनिबार नेपाल ल क्याम्पसमा एनसेललाई कर तिराउन भेला भएका विद्यार्थी तथा युवामाझ नेपाल एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले कर नतिर्दासम्म एनसेल प्रयोग नगर्ने अभियान सञ्चालन गर्ने बताए । 'अब जनताको दबाबले मात्र एनसेल खरिदबिक्रीबाट राज्यलाई आउनुपर्ने ४० अर्ब रुपैयाँ राज्यको खातामा आउँछ', उनले भने । 
गैरेले कर नतिर्दासम्म सबै प्रयोगकर्ताले एनसेल बहिष्कार अभियान सञ्चालन गर्नुपर्ने बताए । पूर्वाञ्चलमा केही दिनअगाडिबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको नेतृत्वमा बहिष्कार कार्यक्रम सञ्चालन भएका छन् । अन्य क्षेत्रमा युवाले एनसेलको सिम फर्काउने अभियान सञ्चालन गरेका छन् । शनिबारै व्यवस्थापिका संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले एनसेल खरिदबिक्रीमा राजस्व छली गर्न लागिएको विषयमा सरकारको धारणा मागेका थिए । 
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले व्यक्तिगत स्वार्थका कारण अर्बौं रुपैयाँ राजस्व छली भएको बताए । 
'एनसेलको कारोबारमा राजस्व छली भएर खतरनाक काम भएको छ । प्रतिपक्ष यसमा आँखा चिम्लेर बस्दैन,' महतले संसद् बैठकमा भने । नेपाली कांग्रेसका सांसद गगन थापाले एनसेल खरिदबिक्रीमा कर उठाउन सरकारलाई निर्देशन दिन जरुरी रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराएका छन् ।

0 comments

Write Down Your Responses