लौरोको भारी कस्दै ओली-प्रचण्ड !

२०७३ जेष्ठ ५ बुधवार
 मोही माग्ने ढुंग्रो लुकाउने ! मुलुकको पहिलो त्रिभुवन विश्वविद्यालयको सबै शास्त्रको माउ राजनीतिशास्त्र विभाग ‘मुर्दा डिपार्टमेन्ट' भएकाले जागिरे प्राडाहरू जागिरमै अस्तव्यस्त र अलमस्त बनिरहेका छन् । त्यहाँका मूर्धन्य भनिएका पूर्व र बहालवाला प्रायः प्राडाहरू देशको राजनीतिक दशा र दिशा पहिचान गरेर बताउन सकिरहेका छैनन् । हाम्रो राजनीति कुन दिशातिर अग्रसर भइरहेको छ, त्यसको संकेत बुझ्न र बताउन सकेको कहिल्यै पाइएन । 
विडम्बना, न उनीहरूले समय दिएका छन्, न त इच्छा नै राखेका छन् । उनीहरूको समय अस्थिपञ्जर र खुइलिएर पहेंला बनेका नोटकपी विद्यार्थीलाई दोहोर्‌याउँदैमा सकिने गरेको छ । थप अध्ययन र अनुसन्धानमा उनीहरूको लगाव कत्ति देखिएन । हुँदो हो त मौकामा पक्कै तरंग ल्याउने थियो ! राजनीतिशास्त्रका स्वनामधन्य प्राडाहरू राजनीतिक दर्शन, सिद्धान्त र विचारअनुसार वर्तमान विश्व, क्षेत्रीय र 

राष्ट्रिय राजनीतिक विकासको विश्लेषण र मार्गदर्शन गर्न लाग्ने थिए, दलका नेताहरूको दौराको फेर समातेर तिनका बहुलट्ठीपूर्ण र असान्दर्भिक भनाइ—गराइलाई सत्य सावित बनाउन होइन । न खोजी न अनुसन्धान ! विभिन्डिएको राष्ट्रिय राजनीतिलाई सही मार्गदर्शन गराउने खरो निकाय बन्न सकेको छैन, जेठो विश्वविद्यालयको राजनीतिशास्त्र विभाग र त्यहाँका प्राध्यापकहरू ।
 हुँदो हो त प्रत्येक राजनीतिक उतार–चढाव राजनीतिशास्त्रका आधारभूत मूल्यमान्यताका आधारमा विचार र सिद्धान्तको कसीमा जाँचिने थिए, जसले गर्दा आम जनसाधारणलाई राजनीतिक दिशा पहिल्याउने आधार हुने थिए ।
 मूर्धन्य राजनीतिशास्त्रीले ‘वाकओभर' दिएको अवस्थामा यो अदनाले देखेको र लागेको विचार व्यक्त गर्नु एउटा दुस्साहस नै हुन सक्छ । दलका बज्रस्वाँठहरूको लालनपालन र आशीर्वादमा मैमत्त बनेका प्राडा बुद्धिजीवी तिनका संगठनको बुद्धिमाथि प्रश्नचिन्ह ठड्याउने प्रयास नै सात खतसरहको अपराध मानिन सक्छ तर यो नै यथार्थ हो । देश, जनता र लोकतन्त्रको वस्त्रहरणका बेलामा पनि बोल्न अन्कनाउने हो भने सार्वभौम मुलुकको नागरिक कसरी रहिरहन सकिन्छ ? मुलुक यतिखेर २६ वर्षअघि घोषित संसदीय व्यवस्थाको राष्ट्रिय स्वरूप निर्माणको चरणमा रहेको छ । 
संसदीय व्यवस्थाका आधारभूत मान्यता नेपालको सन्दर्भमा आफ्नो स्वरूप निर्धारणको प्रसव पीडामा रहेको छ । संसदीय पद्धतिको किनबेचदेखि महाराजको प्रत्यक्ष शासन मात्र होइन, गणतन्त्रका दस वर्ष पनि प्रयोग गरिसकेपछि नेपालीजनलाई सताउने दलका भ्यागुताको धार्नी पुर्‌याउने खेललाई अहिले भइरहेको तीव्र राजनीतिक ध्रुवीकरणले दुईदलीय आकार दिन थालेको देखिँदैछ । 
विचारका आधारमा वामपन्थी-राष्ट्रवादीहरूको उत्तरपन्थी क्रान्तिकारी धार र उदार प्रजातन्त्रवादी र परम्परावादीहरूको दक्षिणपन्थी धार जबर्जस्त आकार लिने क्रममा छन् । वामपन्थी धारलाई ध्रुवीकरण गराउने नेतृत्व एमाले-एमाओवादी कित्ताले गर्न खोजिरहेको छ भने दक्षिणपन्थी धारको नेतृत्व कांग्रेस-मधेसवादीहरूको ध्रुवीकरणले गर्न चट्पटाइरहेको देखिन्छ ।
 दक्षिणपन्थी र वामपन्थी धारको रस्साकस्सी चरमचुलीमा छ । कांग्रेस नेतृत्वमा सभापति देउवाभन्दा पनि कोइराला कित्ताका खेलाडीहरू मधेसवादीहरूको पास पर्खेर डी एरियामा खुट्टो उचालिरहेका छन् भने एमालेका खड्ग ओली प्रचण्डको पासमा झ्याम्मै गोल ठोक्ने मानसिकतामा रहेका देखिन्छन् । एमाले अध्यक्ष तथा देशका प्रधानमन्त्री ओली केही गरेर देखाउने हुटहुटी पालेर बसेका व्यक्ति हुन् । मदन भण्डारीले समेत पत्याएका ओली माधव नेपालको ब्युरोक्रेसीमा जगेडा समूहमा लामो समयसम्म बसेकाले पनि अहिले पावरमा पुगेका बेला सकेसम्म चमत्कार र नसके उपचमत्कार गरेर देखाउने तृष्णा पालेका देखिन्छन् । उनका खिरिला भनाइ र गराइले यसैलाई पुनर्पुष्टि गरिरहेका छन् । 
मालेका महासचिव मदन भण्डारीले आफ्नो संगठन र शक्तिको हिसाबमा हात लाग्यो एक पनि नभएका मनमोहन अधिकारीलाई पहिल्यै उनकै साख्खे साली सहाना प्रधानको नेतृत्वमा रहेको पुष्पलाल समूहलाई मिलाउन लगाए । त्यसपछि तिनै मनमोहनसँग मालेको एकता गरी मनमोहन अध्यक्ष र आफू महासचिव भएको एमाले बनाउन उनी सफल मात्र बनेनन्, पूर्वीयुरोपमा कम्युनिस्ट धराशायी बनेका बेला नेपालमा सशक्त कम्युनिस्ट नेताको रूपमा उदाए पनि ।
 मदनले विकास गरेको बहुदलीय जनवादको ब्याज भजाएर एमाले जनाधार भएको पार्टीको रूपमा स्थापित छ र त्यसको अध्यक्ष अहिले ओली बनेका छन् । ओली मदनको उत्तराधिकारीको रूपमा रहन मात्र होइन, नेपाली राजनीतिक आकाशमा ठूलो छलांग मार्न खोजिरहेका छन् । यसनिम्ति उनी पूर्व महासचिव र अध्यक्ष नेपाल र खनाल तथा माले बनेर एमाले फर्किएका वामदेव गौतमलाई तिनका योग्यता, क्षमता र विशेषताअनुसार प्रयोग पनि गरिरहेका देखिन्छन् ।
 एक एमाले युवाले भने, माधव नेपालको पन्ध्रवर्षे कार्यकालमा जस्तो क्षमतावान्लाई किनारा लगाएर होइन, आकर्षित गरेर देश र पार्टी हितमा लगाउने प्रयत्न गरिरहेका छन् । सर्वशक्तिमान एमाले अध्यक्ष ओली आफ्नो शक्ति प्रदर्शनमा होइन, योग्यताअनुसारको काममा एमालेजनलाई लगाएर रचनात्मक उपयोग गरिरहेको छाप दिन खोजिरहेका छन् ।
 ती युवाले भने, नेपालको समन्वय गर्न सक्ने, तान्ने र डोर्‌याउने, खैंचिने र ल्याउन सक्ने खुबीलाई मात्र होइन, अभिभावक झैँ बनेका पूर्व अध्यक्ष झलनाथ खनाललाई एमाले हजुर बाको भूमिका प्रदान गरेर विचार, चिन्तन र दर्शनलाई राष्ट्रवादी वामपन्थी धु्रवीकरणमा प्रयोग पनि गरिरहेका देखिन्छन् । वामदेव गौतमको लडाकु प्रवृत्तिलाई भुत्तेप्राय बनिसकेका संगठनमा क्रान्तिकारी जीवन भराउन खोज्दैछन् ।
 आफ्नो पार्टीभित्र मात्र होइन, माओवादी जनयुद्धमा बनवास खोजेर त्याग, बलिदान र रगत बगाएका तर नेपाललाई रूपान्तरण गर्न नसकेर छट्पटाइरहेका प्रचण्डलाई वामपन्थी धु्रवीकरणमा सशक्त बनाएर ओलीले टुटफुट र गुटमा विभाजित कम्युनिस्टहरूको शक्तिलाई एकत्रित गर्ने सपनालाई विपनामा ढाल्न खोजेको देखिँदै छ ।
 एउटा भरुवा बन्दुक बोकेर प्रचण्डले जुन सुरुआती परिकल्पना, शासकीय अभ्यास राष्ट्रिय—अन्तर्राष्ट्रिय अवस्थामा गरेका थिए, चाहेअनुसारको काम गर्न नसक्दा छट्पटाउने मात्र होइन, सायद औषधि नखाई सुत्न पनि सक्दैनन् होला प्रचण्ड !, अर्का माओवादी विश्लेषकले भित्री कुरा बताउँदै भने, वैद्य त्यस्तै ठूलो विचार बोकेर समाज रूपान्तरणको सपना बोकेका हस्ती हुन् ।
 न्यून वर्गको मानिस अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसप्रति भएका बेवास्ताले वैद्यलाई कम मर्माहत पारिरहेको छैन । त्यस्तै विप्लव त्यस्तो जोदाहा केटो हो, जोसँग कार्यकारीमा बसेर रूपान्तरणको काम गर्ने ऊर्जा छ । बलियो गोरुले नजोतेका बेला सिँगौरी खेलेर आफ्नो ऊर्जा तह लगाएजसरी विप्लव डुक्रिरहेको छ । मोहनविक्रम सिंह यी सबका गुरु हुन् ।
 विष्णुबहादुर मानन्धर त्यस्ता सन्त हुन्, जो सधैँ पद, प्रतिष्ठा र सुखसुविधाभन्दा माथि रहेर जीवनको नवौँ दसक नजिक पुगिसकेका छन् । रोहित वामपन्थी आन्दोलनका त्यस्ता प्रतिभा हुन्, जसले धार्मिक—साँस्कृतिक एउटा केन्द्रमा बसेर जनभलाइको आराधना गरिरहेका छन् । 
राजधानी उपत्यकाको आग्नेय कोणमा बसेर समुदायलाई सशक्तीकरण गर्दै संगठित गर्ने रोहितको जपना वामपन्थी आन्दोलनको गहना हो, जसको सपना नै समृद्ध नेपाली र नेपाल हो । यस्ता पात्र र प्रवृत्ति नेपालको वामपन्थी आन्दोलनमा बग्रेल्ती छन् । 
स्थापनाको करिब सात दसकमा नेपाली कम्युनिस्टहरूले अनेक प्रयोग गरे । सबै शक्ति जोड्दा पहिलो संविधानसभामै दुईतिहाइसम्म पुगे र अहिले पनि संसद्मा बहुमत छ वामपन्थी कित्ता तर टुट, फुट र गुटले गर्दा दर्जनौंमा विभाजित छन् । त्यसैले यीसँग एक्लाएक्लै न बेच्न इसु छ न त एजेन्डा नै ! तर पनि वामपन्थीहरू बेपत्ता ‘इगो' पालेर बसेका छन् ।
' तराईतिरको चर्चित भनाइ छ– सयका लाठी एकका बोझ ! अर्थात्, एउटा हुँदा लौरो, तर सयजनाको जम्मा गरे बोकिनसक्नुको भारी बन्छ । ओली यही लौरो धु्रवीकरणमा देखिएका छन् । वामपन्थीमध्ये सबैभन्दा ठूलो दलका नेता यदि अहमता छोडेर एकतामा हिँड्न राजी बने भने वामपन्थी धु्रवीकरण असम्भव होइन । वामपन्थीहरू एक ठाउँमा बसेर एउटै नीति कार्यक्रम बनाउन सक्छन् भने गैरवामपन्थीहरू पनि धु्रवीकृत बनेर वामपन्थीहरूको विकल्पमा आफ्नो कार्यक्रम लिएर अगाडि आउन सक्छन् । 
 यसो भयो भने ससाना दलहरू एउटै बलियो शक्ति बन्न सक्छ । यो किन पनि आवश्यक छ भने ध्रुवीकरण नहुने हो भने नेपाली राजनीति बहुदलकालको सांसद खरिद–बिक्री चरणमा फेरि प्रवेश गर्ने पक्का छ । यसको रिहर्सल अघिल्लो साता कांग्रेसको उक्साहटमा प्रचण्ड प्रधानमन्त्री बन्न जसरी लागे, त्यसले फेरि अर्को भ्यागुतो प्रचण्ड नबन्ला भन्न सकिँदैन । 
त्यसैले पनि दुईदलीय ध्रुवीकरण नेपाली राजनीतिको महारोगको अचुक दबाइ हुन सक्छ । यो नहुन्जेल नेपालको संक्रणकाल नै नसकिने पो हो कि ? किन राजनीतिक धु्रवीकरण ?
 यसका दस कारणः 
 १) अहिलेसम्म देशको राजनीतिको लागि जति पुस्ता सकिए, सकिए । अबको पुस्ता पनि त्यसैगरी सखाप हुन दिनु हुँदैन । एकै विचारका दर्जनौँ पार्टीले मुलुकमा परिवर्तन, अग्रगति र समृद्धि दिन सक्दैनन्, एकीकृत कार्यक्रम बनाएर गैर र वामपन्थी विचारकाहरू बेलायत, अमेरिका, जर्मनी, फ्रान्समा जस्तै दुई पार्टी बनाएर अगाडि आए भने नेपालको विकास अवश्यम्भावी छ । 

 २) अबको राजनीति स्वेच्छाले गर्ने हो, करले होइन । राजनीतिक पार्टीहरूबारे अध्ययन गरिरहेका एक अध्येताले भने, आफ्नो इच्छाले पार्टी प्रवेश गर्ने नयाँ संस्कृति बसाल्नुपर्छ । जेल बसेको, निरंकुश कालमा विचारको चौकीदार बनेको, फलानो नेताको झोला बोकेकाको भरमा अब पार्टी चल्नेवाला छैन । जनताको हित र स्वयंसेवी रूपमा राजनीतिमा लाग्ने समय हो यो । लोकतान्त्रिक व्यवस्थामा क्षमतावान् मान्छे, नीति कार्यक्रम हेरेर पार्टी प्रवेश गर्ने र हाँक्ने बाटोमा जान पाउनुपर्छ ।

 ३) गुटफुटले अहिलेका पार्टीको धरातल कमल थापाले लोकतन्त्रको महिमा गाउने र लोकमानले नेतालाई सुशासन र आचरण सिकाउनेसम्म पुग्नु लोकतान्त्रिक गणतन्त्रनिम्ति दुर्भाग्य हो । त्यत्रा संघर्ष गरेका नेता किन र कसरी चुके ? नैतिक धरातल के कारणले गुमाए ? यसलाई उनीहरूको आत्महत्या किन नभन्ने ? 

 ४) गुटफुटे नेताले के खोजे भने जसरी राजालाई नियम–कानुन लाग्दैनथ्यो, सात खत माफी थियो, हामीलाई पनि त्यस्तै हुनुपर्छ । योभन्दा ठूलो विडम्बना लोकतन्त्रमा के हुन सक्छ ? नेताले त कानुनी राज, विधिको शासन, शुद्ध आर्थिक आचरण भनेर चुनौती दिनुपर्ने होइन ? तर तस्कर, बिचौलिया, माफिया, भ्रष्टाचारीबाट नेताहरू रगडिनुसम्म रगडिए । 

 ५) लोकतन्त्रको विकल्प बढी लोकतन्त्र मात्र हुन सक्छ, तर नेताहरूले भ्रष्टाचारको विकल्प बढी भ्रष्टाचार देख्न पुगे । त्यसैले उनीहरू कोही झोलुंगे पुल, कोही स्कुलका छाना, कोही स्कलरसिपका व्यापारी बने । तस्कर र भ्रष्टलाई समानुपातिकका नाउँमा सांसद बेचबिखन गरे । यसलाई धु्रवीकरणले फिल्टर गर्छ र पार्टीलाई शुद्धताको चरणमा पुर्‌याउँछ । दुईदलीय व्यवस्था भएपछि प्रतिभावान् युवा, क्षमतावान् पेसाकर्मीले आधार देख्छ र नहिच्किचाई राजनीतिमा प्रवेश गर्न थाल्छ । 
जसरी जुन खेलको विश्वकप सुरु हुन्छ केटाकेटी सडकमा त्यही खेल खेल्न थाल्छन् त्यसैगरी राजनीतिमा पनि सम्भावना देखेपछि युवाहरूको प्रवेश हुन थाल्छ । 

 ६) दुईदलीय धु्रवीकरणले राष्ट्रिय एकीकरण सुरु गर्छ किनभने जसरी साना फोहोटाहरूलाई एउटै गह्रो बनायो भने ठूलो परिवार पाल्ने उब्जनी दिन्छ र परिश्रम पनि थोरै गरे पुग्छ । विकसित देशहरूमा दुईदलीय व्यवस्था रहेका छन्, जहाँ बाबुले राज गरेको नाउँमा छोराले होइन, योग्य व्यक्तिले स्थान पाउँछ । 

 ७) दलीय विभाजन र गुटफुटले नागरिक समाज पनि विभाजित छ, तर त्यसको योगदान परिवर्तनमा कम्ती थिएन । धेरै पार्टी हुँदा दमन ढुंगाना, पद्मरत्न, देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, वीरेन्द्र मि श्रहरूले उचित ठाउँ पाउन सकेनन् । तर यिनलाई राष्ट्रपति—उपराष्ट्रपति बनाउन सकेको भए देशको हालत यस्तो हुने थिएन, समाजले अर्कै गति लिइसक्थ्यो ।

 ८) नेपालको परिवर्तनको रौनकलाई विकासको गति दिन एउटा सत्तापक्ष र अर्को प्रतिपक्ष भए पुग्छ । अनावश्यक दलहरू खानाको काल मात्र बने, कहिले श्रीमान् त कहिले श्रीमती ! 

 ९) दुईदलीय हुनेबित्तिकै वर्गीय, जातीय, धु्रवीय, भाषिक, धार्मिक नामका पार्टी स्वतः अलप हुन्छन् । बीपी पनि भन्थे, प्रजातन्त्रमा सत्तापक्ष र प्रतिपक्ष चाहिन्छ ।

 १०) नेपालको चुनाव हेर्ने हो भने त्यहाँ देखिन्छ, जनताले जहिले पनि सत्तासीनलाई हराइदिन्छन् । यस्तो भयो भने आजको प्रतिपक्ष भोलिको सत्तापक्ष हुन्छ र सत्तासीनले जहिले पनि विपक्षीका जायज मागलाई सम्बोधन गर्न बाध्य हुन्छ । दुईदलीय ध्रुवीकरणतर्फ मुलुकको जुन ध्यान जान थालेको छ, मंसिरमा हुने निर्वाचनले धु्रुवीकरणलाई टड्कारो रूपमा देखाइदिनेछ । केन्द्रदेखि नीति कार्यक्रममा वामपन्थी र दक्षिणपन्थी कार्यक्रमबीचको विभाजन छर्लंग हुनेछ ।
 एक विश्लेषकले त मुखै फोरेर भने, स्थानीय चुनावले नेपालीहरू सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानलाई महत्त्व दिन्छन् कि दाल चामललाई मात्र, स्थानीय चुनाव भयो भने स्पष्टसँग देखिनेछ । तर मेरो विचारमा दुईदलीय धु्रवीकरण भए पनि त्यो शतप्रतिशत हुने म देख्दिनँ किनभने कम्युनिस्टको दम्भ र मधेसीहरूको जाति समूहको विभाजनले साना दल केही त रहन्छन् नै । त्यस्तै राप्रपामा पनि कमल थापा, पशुपति, लोकेन्द्रबहादुर र सूर्यबहादुर गुटको कारण छिटपुट बाहिर पर्छ ।

0 comments

Write Down Your Responses