‘चीनबाट काठमाडौंका लागि’ भन्दै छुट्यो रेल, नेपाललाई पत्तो छैन

३० वैशाख, काठमाडौं । 
नेपालको राजधानी काठमाडौंका लागि चीनबाट मालवाहक रेल छुटेको समाचार बुधबार चिनियाँ दैनिक पत्रिका पिपुल्स डेलीको अनलाइन संस्करणमा छापिएको छ । यसअघि नेपाल आउने सामान सामुद्रीक मार्गबाट ढुवानी हुने गरेकोमा पहिलोपटक रेलबाट ल्याइएको समाचारमा उल्लेख छ । सो अनलाइनका अनुसार चीनको उत्तरपश्चिमी गान्सु प्रान्तको राजधानी लानझोउबाट अन्तर्राष्ट्रिय मालबाहक रेल बुधबार दिउँसो छुटेको हो ।
 यसको अन्तिम गन्तव्य काठमाडौं भए तापनि सिगात्सेपछि ती सामान सडकमार्ग हुँदै आउने छन् । तिब्बतको सिगात्सेसम्म मात्र रेलमार्ग आइपुगेको छ । पिपुल्स डेली लेख्छ, ‘यी सामान काठमाडौं आइपुग्न १० दिन लाग्ने छ । यसमा तीन चरण रहनेछन् । लान्झोउबाट सिगात्सेसम्मको दुई हजार ४ सय ३१ किलोमिटर रेल मार्ग, सिगात्सेदेखि नेपालको केरुङ ५६४ किलोमिटर सडक मार्ग र केरुङदेखि काठमाडौंसम्मको १६० किलोमिटर सडकमार्ग । सामुद्रीक यातायातभन्दा यो विधिबाट ३५ दिन चाँडो काठमाडौं पुग्ने पत्रिकाले जनाएको छ ।
 चाइना रेल्वे कन्टेनर कोअपरेसनका अनुसार यो रेलमा ४३ वटा कार र ८६ वटा कार्गो कन्टेनरहरु रहेका छन् जसमा दैनिक आवश्यकता र घरेलु प्रायोजनका सामग्री छन् । नेपाली अधिकारी बेखबर पिपुल्स डेली चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका हो । यसले दिने समाचार सरकारको आधिकारिक मानिन्छ । तर, ‘चीनबाट काठमाडौंका लागि’ मालबाहक रेल प्रस्थान गरेको विषयमा नेपाली अधिकारीहरु बेखबर छन् । सरोकारवाला वाणिज्य र आपूर्ति मन्त्रालयका जिम्मेवार व्यक्तिहरुले यसबारे केही जानकारी नभएको बताए ।
 आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले भने, ‘मलाई यसबारेमा केही जानकारी आएको छैन । हाम्रो मन्त्रालयबाट चीनमा कुनै माग गएको पनि छैन ।’ वाणिज्य मन्त्रालयका सहप्रवक्ता महेन्द्र सापकोटाले पनि अनभिज्ञता दर्शाए । ‘आपूर्तितिर केही थाहा हुन सक्छ, हामीकहाँ कुनै सूचना छैन ।’ वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘व्यापारिक सामान आएको होला । सरकारी स्तरमा नयाँ काम केही भएको छैन ।’ अहिले पनि जारी छ आयात त्यसो त अहिले पनि सिगात्सेबाट कन्टेनरमा रसुवाको केरुङ हुँदै सामान आयात भइरहेकै छ ।
 भूकम्पपछि टुटेको यो आयात श्रृंखला गत १४ मंसिरदेखि पुन: जोडिएको हो । रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले पनि रेलमार्गबाट सामान आएको कुरा आफूले मिडियाबाट थाहा पाएको बताए । उनले भने, ‘आधिकारिक तवरबाट मलाई केही जानकारी आएको छैन । बुझ्दैछु ।’ पनेरुका अनुसार अहिलेसम्मको अभ्यासमा केरुङबाट ट्रकबाट सामान आइरहेको छ ।
 उनी भन्छन्, ‘केरुङसम्म आएपछि मात्र हामीलाई थाहा हुन्छ । सिगात्सेसम्म कुन माध्यमबाट आउँछ भन्ने मलाई जानकारी भएन ।’ उनले भूकम्पपछि एक अर्ब ३१ करोड रुपैयाँ बराबरको आयात केरुङ नाकाबाट भइसकेको जानकारी दिए ।

0 comments

Write Down Your Responses