प्रधानमन्त्रीले भने, ‘सडकमा के को तमासा ?’
‘आन्दोलन हिंसात्मक हुने देखेको छु, त्यसो भयो भने सरकारले कानुन कार्यान्वयन गर्छ’
जेष्ठ ३, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी–जनजाति आवद्ध दलहरुको संघीय गठबन्धनले सडकमा ‘तमासा’ देखाएको भन्दै तीब्र असन्तुष्टि जनाएका छन् ।
‘सडकमा बिनासित्ति जाम गरेर के को तमासा ?,’
उनले भने ‘तमासा गर्नुभन्दा आउनुस् स्वयंसेवक भएर जनताको पक्षमा काम गर्न जाऔं । जनताकै लागि काम गर्न राजनीति गर्न खोजको हो भने भूकम्पपीडित क्षेत्रमा पुनर्निर्माण अभियानमा जुटौं ।’
एमालेले सोमबार जमलस्थित नाचघरमा आयोजना गरेको मदन आश्रित स्मृति दिवसको कार्यक्रममा ओलीले तराई बन्दले दु:ख पाएका जनताले अस्विकार गरेपछि उनीहरु काठमाडौं आएको टिप्पणी गरे ।
गठबन्धनले सिंहदरबार घेराउ गरेपछि दुई दिनदेखि आसपासको सवारी आवागमन प्रभावित भएको छ ।
‘तराईका जनताले धेरै दु:ख भयो । यता नआनुस् भनेपछि उहाँहरु काठमाडौंतिर आउनु भएको रहेछ,’ उनले भने ‘दुई चार जना जम्मा भइरहने, सडक बन्द गर्ने र ट्राफिक जाम भइरहने यस्तो तमासा धेरै दिन हुनुहुँदैन ।’ उनले सरकारले कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिए । ‘शान्तिपूर्ण ढंगले नै गर्नुस् भन्ने मेरो आग्रह छ ।
तोडफोड नगर्नुस्,’ उनले भने, ‘हिंसातर्फ लैजान खोजेको देखेको छु । त्यस्तो गर्दै नगर्नुस् । मुलुकमा कानुन छ । सरकार त्यसको कार्यान्वयन गर्न प्रतिवद्ध छ ।’
ओलीले लोकतन्त्र प्राप्तीका लागि आन्दोलन हुने भन्दै तर लोकतन्त्र/प्रजातन्त्र आएपछि के–का लागि आन्दोलन भन्ने प्रश्न गरे ।
‘हामी पनि आन्देलन गरेरै आएका हौं । प्रजातन्त्रमा जनताको असहमति सम्वाद र अभिमतबाट फैसला गरिन्छ,’ उनले भने ‘९२ प्रतिशतले संविधान बनाउने र म चाँही मान्दै मान्दिन भन्ने ? विधि र प्रक्रियासम्मत निर्णय नमान्ने लोकतन्त्रमा हुन सक्दैन ।’ उनले संविधान पुनर्लेखनको को कुरामा भयानक षड्यन्त्र र कपट लुकेको समेत उल्लेख गरे ।
‘संविधान पुनर्लेखन गर्ने रे ? कहाँ बसेर गर्ने ? पुनर्लेखन गर्ने कुरामा भयानक षड्यन्त्र र कपट छ ।
त्यसैले कुनै पनि हालमा हुन सक्दैन र हुँदैन,’ उनले भने ‘मैल पटक पटक वार्ता गरौं आउनुस् भनेको छु, तर, उहाँहरु कुरै गर्न नबस्ने रे ! नेपालीले भनेको नमान्ने अनि कस्ले भनेको मान्ने ?’
ओलीले सरकारले जनताको पक्षमा काम गर्ने बताए । नीति तथा कार्यक्रमले त्यस्को संकेत गरेको भन्दै उनले बजेटले थप स्पष्ट हुने बताए ।
‘नयाँ बजेट भनेको नयाँ ब्याट्री हालेको टर्च जस्तो बल्ने हुन्छ,’ उनले भने, ‘अब नेपालमा रेल आयो आयो ।’ उनले चन्द्रशमेरशको पालामा १९२१ मा रेलको कुरा गर्दा त्यो बेलाका ६ जना विद्वानहरुले रेल हुँदै हुन्न भन्थे तिनका सन्तानहरु अहिले पनि त्यस्तै विरोध गरिरहेको बताए ।


0 comments
Write Down Your Responses