गोरखा केन्द्रबिन्दू भएर पराकम्प, काठमाडौं पनि हल्लियो
२९ वैशाख, काठमाडौं ।
गत बर्षको वैशाख १२ गते आएको बिनाशकारी भूकम्पपछिको पराकम्पहरु आउने क्रम अझै रोकिएको छैन । बुधबार मात्र दुई पटक पराकम्प महशुस गरिएको छ ।
आज दिउँसो २ बजेर ३७ मिनेटमा गोरखा केन्द्रबिन्दू बनाएर ४.५ म्याग्निच्युडको पराकम्प महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का महशुस भएपछि गोरखा तथा आसपासका जिल्लाका मानिसहरु घरबाट निस्केका थिए । पराकम्पको धक्का काठमाडौंमा समेत महशुस गरिएको थियो ।
यसअघि आज बिहान ७ बजेर ४ मिनेटमा धादिङ केन्द्रबिन्दू बनाएर ४.४ म्याग्निच्युडको पराकम्प महशुस गरिएको थियो । बुधबार मात्र दुई पटक पराकम्प महशुस गरिएको हो । गत बर्षको वैशाख २९ गते दोलखाको सिंगटी केन्द्र बनाएर ६.८ म्याग्निच्युडको शक्तिशाली पराकम्प महशुस गरिएको थियो । त्यसले सिंगटी आसपासमा निक्कै ठूलो क्षति गरेको थियो ।
वैशाख १२ गतेको ठूलो भूकम्पपछि अहिलेसम्म ४५४ वटा पराकम्पहरु गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रको वेवसाइटमा उल्लेख छ ।


0 comments
Write Down Your Responses