एउटा सरकारी जिप तोडफोड,काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त..



काठमाडौं, जेठ २ – आन्दोलनरत संघीय गठबन्धनको सिंहदरबार घेराउका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । सिंहदरबार आसपासका क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ भने चक्रपथ हुँदै भित्री बाटो माइतीघर, त्रिपुरेश्वर थापाथली, कालिमाटी कलंकी चल्ने गाडीलाई चक्रपथकै रुटमा डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गठबन्धनका कार्यकर्ताले बिहान एउटा सरकारी जीपमा तोडफोड गरेका छन् । बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड भएको हो । गठबन्धनका कार्यकर्ता अहिले सिंहदरबार आसपासमा जम्मा भएका छन् । प्रहरीले सिंहदरबारभित्र र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनमा लाठी लैजान निषेध गरिएको र लाठी बोक्नेलाई कारबाही हुने प्रहरीले जनाएको छ । आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाले हिजो काठमाडौंमै प्रदर्शन गरेको थियो । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको गठबन्धनले यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । सरकार आफ्ना ११ बुँदे मागप्रति गम्भीर नभएको गठबन्धनको आरोप छ ।

0 comments

Write Down Your Responses