प्रधानमन्त्री कप भलिबल सुरु
चैत्र ३०, २०७२- प्रधानमन्त्री कप इन्डो–नेपाल महिला भलिबलको तेस्रो सस्करण मंगलवारदेखि नेपालगन्जमा सुरु भएको छ । स्वदेशी चार र भारतका दुई टिम सहभागी प्रतियोगिताको रोमान्चक उद्घाटन खेलमा भारतीय उत्तरप्रदेश टिमले पश्चिमाञ्चललाई हराएको छ । त्यस्तै, कोहलपुरमा भएको अर्को खेलमा स्थानीय टिममाथि सशस्त्र प्रहरीको एपीएफ टिम हाबी भएको छ ।
उत्तर प्रदेशले पश्चिमान्चललाई २५–१९, १८–२५, २५–२२ र २५–१७ को सेटमा हरायो । गत बर्षको तुलनामा उत्तरप्रदेशको टोली सशक्त देखिएको छ । पश्चिमाञ्चल टिममा राष्टिय टिमका मन्जु गुरुङ, अरुणा शाही, उषा चौधरी सहभागी छन् । त्यस्तै भारतीय टिममा प्रान्तस्तरीय उत्कृष्ट खेलाडी छन् ।
कोहलपुरमा राष्टिय टोलीका कप्तान विनिता बुढाथोकी नेतृत्वको एपीएफ क्लबले स्थानीय खेलाडी सम्मिलित मध्यपश्चिम टिमलाई २५–१३, २५–३ र २५–९ को सोझो सेटमा हराएको छ । एपीएफ क्लबमा राष्टिय खेलाडीहरु सरस्वती चौधरी, रेश्मा भण्डारी र नेविका चौधरी पनि छन् । आयोजक बॉके जिल्ला भलिबल संघले पहिलो पटक मध्यपश्चिम टिम प्रधानमन्त्री कपको कोर्टमा उतारेको हो ।
प्रतियोगितामा साबिक विजेता नेपाल एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी काठमाडौं, पश्चिमान्चल टिम पोखरा, आयोजक मध्यपश्चिम टिमले प्रधानमन्त्री कपको उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन । त्यस्तै, छिमेकी भारतबाट उत्तरप्रदेश टिम र रेल–वे टिम कोलकता सहभागी छ । पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबले भने तयारी नपुगेकोभन्दै अन्तिम समयमा सहभागी हुन नसक्ने जानकारी गराएको प्रतियोगिताका संयोजक टिएस ठकुरीले बताए ।
प्रतियोगिताको युवा तथा खेलकुद् मन्त्रालयका सहसचिव चुडामणी पौडेलले उद्घाटन गर्दै राजधानीबाहिर प्रतियोगिता बृद्धि हुनु समग्र खेलकुद क्षेत्र र खेलाडीका लागि खुशीको विषय भएको बताए । उद्घाटन सत्रमा जनप्रिय खनालको रचना र वीपी वाग्ले, रेश्मा पुन र सुरजसिंह ठकुरीले गाएको खेल गीत हामी खेलाडी पनि सार्वजनिक गरिएको छ । त्यसअघि विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रदर्शन गरिएको थियो ।
पुरस्कार राशी वृद्धि गरी विजेतालाई नगद एक लाख एक हजार, उपविजेतालाई ५१ हजार र तृतीयलाई ३१ हजार नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्न लागिएको ठकुरीले बताए । त्यस्तै, उत्कृष्ट विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।


0 comments
Write Down Your Responses