आईसीसीले किन निलम्बित गर्‍यो क्यानलाई ?

वैशाख १४, २०७३- नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित भएको छ । विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले सोमबार राति मुख्यालय यूएईको दुबईबाट सरकारी हस्तक्षेप र नेपाली क्रिकेट नेतृत्वविहीन रहेका कारण क्यानको सदस्यता निलम्बन गरेको जनाएको हो । 

आईसीसीको बिहीबार र शुक्रबार बसेको बैठकले नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निष्पक्ष तथा स्वतन्त्र चुनाव नभएको भन्दै आर्टिकल २.९ मिचेका कारण निलम्बन गरेको जनाएको छ । सोहीअनुरूप क्यानले आईसीसीबाट कुनै अनुदान पाउनेछैन । आईसीसीले फितलो व्यवस्थापनका कारण क्यानलाई सन् २०१४ को अन्त्यदेखि दिने लगभग सबैखाले अनुदान रोक्का गर्दै आएको छ । आईसीसीले क्यानलाई दिन रोक्का गरेको रकम १० लाख डलरभन्दा माथि पुगिसकेको छ । 

‘नेपाली क्रिकेट टिम र खेलाडीलाई यसले कुनै असर नहुने भएकाले नेपाली क्रिकेट टिमले भविष्यका प्रतियोगिताहरू भने खेल्न पाउने छ,’ आईसीसीले विज्ञप्तिमा भनेको छ । दुई समानन्तर क्रिकेट संघका कारण आईसीसीले अघिल्लो साता दुवै क्यानलाई किनारा लगाउँदै नेपालको नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल काठमाडौंमा आफैंले आयोजना गरेको थियो ।
 मंसिर अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । आफ्नो स्वीकृतिबिना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन । पुस १८ गते राखेपले रमेश सिलवालको अध्यक्षतामा क्यान तदर्थ समिति गठन गरेको थियो । त्यसविरुद्व चन्द सम्मिलित क्यानले सर्वोच्च अदालतमा रिट हालेको थियो, जसको अझै निर्णय भएको छैन । 
आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले नेपालको सर्वोच्च अदालतको निर्णयको बारेमा आफूहरू स्पष्ट हुन नसकेको र यो स्थितिमा क्यानले नेपाली क्रिकेटको सर्वोच्च निकायको हिसाबमा कार्य गर्न नपाउने जनाएका थिए । 
फेब्रुअरी १८ मा उनले नेपाली क्रिकेटका सरोकारवालाहरूलाई पत्र पठाउँदै स्थिति यही रहेमा क्यान निलम्बनको नजिक रहेको जनाएका थिए । ‘आईसीसीको व्यवस्थापनले नेपाली क्रिकेट समुदाय र सरोकारवालाहरूसँग नेपाली क्रिकेटको दिगो सुशासनका लागि काम गर्नेछ,’ आईसीसीको विज्ञप्तिमा भनिएको छ, ‘आईसीसी सदस्य राष्ट्रहरूमा सरकारी हस्तक्षेप मान्य छैन ।
 सरकारी हस्तक्षेपबाट मुक्त नहुन्जेलसम्म तथा क्रिकेट विकासको संरचना नभएसम्म क्यान निलम्बनमा रहनेछ ।’ नामिबियासँगको खेलका क्रममा एन्डरसनसहित आईसीसीको टोली नेपाल आएको थियो । उनीहरूले दुवै क्यानसँग नेपाली क्रिकेटबारे छलफल गरेका थिए । सोही आधारमा आफूहरूले त्यो प्रतिवेदन आईसीसीको बैठकमा बुझाउने जनाएका थिए । त्यस क्रममा आईसीसी टोलीले नेपाली क्रिकेटको स्थिति दुर्भाग्यपूर्ण रहेको जनाएका थिए ।

0 comments

Write Down Your Responses