भूकम्पले हल्लाएको मन ...
नेपाललाई विनाशकारी भुइँचालोले बेस्सरी हल्लाएको एक वर्ष पुग्दैछ। अझै यसको घाउ राम्ररी पुरिएको छैन। भत्किएका घर अहिलेसम्म ठडिन सकेका छैनन्। वर्ष दिन हुँदा पनि घरबारविहीन बारी र आँगनमै छन्। सिन्धुपाल्चोक सेलाङ गाविसमा अस्थायी बसोबास गर्दै आएका भूकम्पपीडितका लागि समयमात्र बगेको छ। परिवर्तन उनीहरूको जीवनमा निकै टाढाको वस्तु भएको छ। दुःखको यात्रामात्रै लम्बिएको छ। अवस्था पोहोरको भन्दा एकरत्ति पनि फरक भएको छैन।
कतिखेर के हुन्छ ? मन स्थिर हुन सकेको छैन।
घामपानी छेक्ने घर भूकम्पसँगै भाग्नावशेष भयो। त्यसपछिका लगातारका परकम्प, सुक्खा, पहिरो र अन्य प्राकृतिक विपत्तिले गाउँमा बस्ने अवस्था रहेन। अहिले सेलाङ-८ मा भत्किएका घर र बाँझो खेतबारीमात्रै बाँकी छन्। मानव बस्ती पनि विस्थापित भएको छ।
मानिसलाई आफ्नो जीवनभन्दा प्यारो अरू लाग्दैन रहेछ भन्ने उदाहरण बनेको छ, यो बस्ती। जीवन रहे न अरू थोकको अर्थ रहन्छ भन्ने मानसिकताले काम गरेपछि सेलाङका विभिन्न वडा, गोल्छे, गुम्बा र स्याउलेका भूकम्पपीडित सेलांग-१ मा रहेको सामुदायिक जंगलमा बस्न आएका हुन्।
एक वर्षा, एक हिउँद र अर्को गर्मी बित्न लागेको छ। एक सय ५० भूकम्पपीडित परिवार अझै यही जंगलमा बाँचिरहेका छन्। जीवनमा बाँकी छ त केवल अन्योल, दुःखका लामा शृंखला।
समुद्री सतहबाट २२ सय मिटरको उचाइमा रहेको यो ठाउँमा जाडोमा अति जाडो र गर्मीमा हावाहुरी, सुक्खा पहिरो जाने जोखिम उच्च छ। अहिले चैतवैशाखको खडेरीमा पानीको उस्तै अभाव छ।
भूकम्प र निरन्तरको परकम्पले सिन्धुपाल्चोक जिल्ला अति प्रभावित भयो। यहाँका ९८ प्रतिशत घर भत्किए। तीन हजार पाँच सय ५७ जनाले ज्यान गुमाए।
कति बेपत्ताको सूचीमा छन्।
हरेक पाइलामा समस्यामात्रै टेकेर बाँचेकी मेन्दो दोङ धुवाँले रुमल्लिएको छाप्रोमा थिइन्, बिरामीसरह। बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी, बच्चाहरू पढाउने विद्यालय त मेन्दोहरूका सपनाभन्दा पनि पर छन्।
पहिरोले नचिरेको कुनै डाँडा छैन। पानीको मुहान सुकेको छ। जंगल प्रशस्तै भए पनि एक थोपा पानीको प्यास मेट्न घन्टौं खर्चनुपर्ने बाध्यता उनीहरूको छ। चेपेका बेतबहादुर श्रेष्ठ पानीको मुहान खोज्दै हरेक जंगल भौतारिएको पनि एक साता भइसक्यो।
'घर त भत्कियो, अहिले छाप्रोको बास छ। खेतबारी त छ तर पानीको तिर्खा नमेटिने भो।
जीवन कसरी धान्नु ? तरकारीमा लगाउने पानी त सपना भयो, गाईबस्तुलाई खुवाउनेसमेत पानी पाइँदैन', बेतबहादुर दुखेसो पोख्छन्।
७७ घरधुरी भएको सेलाङ-५ मा पानीको चरम संकट हुँदा न स्थानीय निकायलाई पर्वाह छ, न सरकार न त संघसंस्थालाई वास्ता छ। 'एक घन्टाको दूरीमा रहेको कुवाको पानीले कहिलेसम्म धान्ने हो', स्थानीयको त्रास छ।
हरेक पाइलामा समस्यामात्रै टेकेर बाँचेको धुवाँले रुमल्लिएको छाप्रोमा रहेकी मेन्दो दोङले दुखेसो पोखिन्। बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी, बच्चाहरू पढाउने विद्यालय त उनीहरूका सपनाभन्दा पनि पर छन्।
दोङले दुःखेसो गरिन्, 'अस्थायी टहरामा कति दिन गुजारा चलाउने ? ' गाउँ गएर खेती गर्न पनि अलिअलि भएको जमिन केही बाढीले केही पहिरोले लगेको छ। बसेकै ठाउँबाट पनि कति बेला उठिबास हुने हो, कुनै ठेगान छैन।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख गोकर्णमणि दुवाडी पनि बाँसखर्क, खरीगाउँ र काफ्लेमा बस्दै आएका भूकम्पपीडितको पुनर्बासको प्रक्रिया सुरु नै नभएको स्वीकार्छन्। 'अरूतिर पनि केही काम अघि बढेको छैन, उनीहरूका लागि मात्रै के काम गर्न सकिन्छ र? ', दुवाडीले प्रतिप्रश्न गरे।
- See more

0 comments
Write Down Your Responses