पुरिएर बाँचेकाहरू
वैशाख १२, २०७३-
भोटेकोसी किनारमा २४ घण्टा
भक्तबहादुर नेपाली-५९
मानेश्वाँरा ८, सिन्धुपाल्चोक
नेपाल—तिब्बत सिमानाको मितेरी पुलबाट करिब पाँच सय मिटर पश्चिम । उनी सधैं भीडभाड रहने लिपिङ बजारको आफ्नै पसलमा बसिरहेका थिए ।
एक्कासि हल्लाउन थाल्यो । पहिले त के भयो भन्ने लाग्यो । हल्लाइरहेपछि बा र हजुरबाले ९० सालमा भूकम्प गएको कुरा गरेको सम्झें ।
अब कहाँ गएर बस्ने भन्ने लाग्यो । ठूलो घरमा लुक्दा झन् खतरा हुने लाग्यो । नजिकै घरमा थाइचो खेल्ने ठाउँमा गए ।
त्यहाँ २ जना केटा उभिएका थिए । टाउको जोगाउनुपर्छ भन्ने लाग्यो । थाइचोमुनि टाउको लुकाएर बसेँ । माथिबाट पहाडै झर्न थाल्यो । माथिबाट पहाड फुटेर आउँछ, पहिरो आउँछ भन्ने त होसै भएन । हेर्दाहेर्दै पहाड खस्यो ।
पहाड सडकमा बजारियो । सडक भासिँदै गयो, पहाडसमेतले घरलाई घँचेट्यो । घर घिसारिँदै बग्न थाल्यो । घरले मलाई थिचेको होइन घरैसमेत बगेर म खोलामा पुगेँ । माथिल्लो भाग ढल्यो म घरको जगसँगै बगेँ । बग्न थालेपछि म बेहोस भएछु । भोटेकोसीको डिलमा पुगेपछि घर बग्न रोकिएछ ।
म एकछिनपछि होसमा आएँ ।
पक्की घरको माथिल्लो भाग ढलेछ । म तल्लो भागमा भएकाले थिचिएको थिइनँ । तल बगेपछि म उछिट्टिएर खोलाको डिलमा पुगेछु । घर अडिएको डिलबाट भोटेकोसी २—३ मिटर मात्र तल थियो ।
म एक प्रकारको अनिर्णीत अवस्थामा थिएँ । खुट्टा त जताततै लालाकलुलुक हुन थाल्यो, दायाँबायाँ घुम्न थाल्यो । खुट्टा उचालेर हेरेँ भाँचिएछ, भन्ने लाग्यो । देब्रे खुट्टा, हात र टाउकोमा कतै चोट नभएकाले बाँच्छु भन्ने लाग्यो ।
जताततै कराएको र चिच्याएको अवाज आउँथ्यो । मलाई देख्ने कोही थिएनन् । त्यही बसेर तीन घण्टा बित्यो ।
त्यसपछि माथिल्लो भागमा रहेको मनकामना होटलमा मान्छे बोलेको सुनेँ । साथीहरू आउनुस् न आउनुस् म गहिरोमा छु भनेर कराएँ । उनीहरूले पख, पख आउँछौं, आउँछौं भने, आएनन् । केही बेरपछि फेरि अर्को टोली हिँडेको देखेँ । फेरि कराउँदै भने ‘खाल्डोबाट निकाल्नुस् १० हजार पुरस्कार दिन्छु ।’
मेरो खुट्टा मात्र भाँचिएको हो केही भएको छैन भन्दा पनि उद्धार गर्न कोही आएनन् ।
पहिरोमा भाँचिएको खुट्टाको पीडामा उभिएरै बसेको थिए । करिब साढे चार बजे सँगै बस्ने बहिनी गौरी न्यौपाने अंकल, अंकल भन्दै कराउँदै आइन् । खासाबाट भाग्दै आएका ५ जना भाइहरू पनि आइपुगे । उनीहरूले एउटा मण्डी खोजेर लगेछन् । त्यसमै राखेर खाल्डोबाट निकाले ।
खोलाभन्दा माथि सानो समतल भागमा सुताए । एकछिनपछि मेरै पसलबाट त्रिपाल लगेर त्यसलाई ढुंगाले थिचेर बस्ने ठाउँ बनाइदिए । चारैतिरबाट पहिरो आएकाले उनीहरू आफ्नै ज्यान कसरी बचाउने भन्नेमा थिए ।
उनीहरू चिनाजानका मान्छे पनि थिएनन् ।
मससँगै बस्ने बहिनीले एक्लै उचालेर लैजान सक्ने अवस्था थिएन ।
त्यसैले मलाई त्यही त्रिपालमा सुताएर उनीहरू फर्के । मैले पनि सँगै बस्ने बहिनीलाई सुरक्षित स्थानमा जान भनें । पहिरो चलिरहेको र खोलाको किनार भएकाले बाँचिन्छ भन्ने आशा थिएन । रातभर यही बस्छु बाँचिएछ भने भोलि कसैले उद्धार गर्ला भन्ने लाग्यो ।
भूकम्पपछि धेरैजसो आफ्नै ज्यानको सुरक्षामा लागेकाले उद्धार गर्ने मान्छे पनि नभएको बहिनीले बताइन् । रात पर्दै गयो, भूकम्प रोकिएको छैन । पहिरो चल्दै छ, टाउको माथि घर ढल्केर बसेको छ म रातभरिमा पक्कै मर्छु भन्ने लाग्यो । कति बेला ढुंगा खसेर लाग्छ र मेरो ज्यान जान्छ भन्ने लाग्यो ।
राति १ बजे मलाई छोपेको त्रिपाल कसैले उचालेको जस्तो भयो । बाघ आएछ क्यारे अब खाने भयो, ठिकै छ मलाई यसरी नै मर्न लेखेको रहेछ भन्ने लाग्यो ।
रातभर म बाँच्छु, भोलि उज्यालो भएपछि उद्धार गर्छन् भन्ने नै लागेको थिएन । उज्यालो भयो मरिएन, बिहान ६ बज्यो अनि अलि आस जाग्न थाल्यो । कोही उद्धार गर्न आउँछन् कि भन्ने लाग्यो ।
९ बजेसम्म कसैले खानेकुरा त तातोपानी लिएर आउँछन् कि भन्ने आस लागिरह्यो । त्यसबेला पनि कोही नआएपछि गाउँका सबै मान्छे मरेछन् र मेरो परिवारमा पनि कोही बाँचेनछन् भन्ने सोचेँ ।
११ बजे हेलिकप्टर आयो । मैले हात हल्लाउँदै म यहाँ छु आउनुस्, आउनुस् भनें । मलाई पो उद्धार गर्न आएछन्जस्तो लाग्यो । हेलिकप्टर पनि गयो ।
पारिपट्टि नेपाली र चिनियाँ हिँडेको देखेर हात लम्क्याउँदै आउनुस्, आउनुस् भनें कसैले वास्ता गरेनन् । भोलिपल्ट १२ बजे अर्थात् भूकम्प गएको २४ घण्टापछि मानेश्वाँराबाट श्रीमती, छोराबुहारी र आफन्तसमेत ५ जना आए । स्टेचरमा राखेर बोके, सडकमा निकाल्ने ठाउँ भएन ।
घरहरू भत्केको थियो ।
जताततै ठूला चट्टानैचट्टान थियो । भत्केको घरको चार तलामाथि लगेर फेरि तल ओरालेर मलाई सडकमा निकाले । स्थानीय लिपिङ खोलाको पुल नजिकै पुर्याउनेबित्तिकै फेरि भूकम्प गयो । २—३ मिनेटअघि मात्र हिँडेको भए ठूलो पहिरोमा परेर सबै पुरिने रहेछौं ।
एकैछिनले ढुंगा नआउने ठाउँमा अडिन भ्यायौं ।
हामी जाने बाटोमा ढुंगैढुंगाले पुरिएको थियो । करिब एक किलोमिटर पैदलपछि स्थानीय चौकीडाँडामा लगेर राखे । त्यहाँ भूकम्पबाट बच्न हजारौं मान्छे बसेका रहेछन् । खासा घुम्न आएकाहरू धेरै थिए । त्यो दिन मलाई हेलिकप्टरले लगेन । १४ गते हेलिकप्टरले राजधानीको सैनिक अस्पतालमा पुर्यायो ।
१७ गतेबाट खुट्टाको अप्रेसन सुरु भयो । सवा दुई महिना अस्पतालमा बसेँ । अरूलाई अन्यत्र पठाए । खुट्टाको अप्रेसन चारपटक भयो ।
अहिले पनि निको भएको छैन । भित्रपट्टि स्टिल पाता राखेको छ । बाँच्न लेखेको रहेछ । नयाँ जीवन पाएको छु । बाँचियो त्यसमा खुसी छु ।
उपचार नि:शुल्क भए पनि औषधि किनेर खानुपर्छ । घर भत्कियो, आम्दानी छैन । सडकमै पुगियो । अब काम गर्न सकिँदैन । खुट्टा कहिले निको हुन्छ, थाहा छैन । निको भए पनि पहिले जसरी काम गर्न सकिँदैन । चाहेर कोही पनि अपांग हुँदैन । भूकम्पमा अपांग भएका सबैलाई सरकारले विशेष परिचयपत्र बनाएर भत्ताको व्यवस्था गर्नुपर्छ ।
हँसियाले हात छिनालेर बाँचियो
दिव्या श्रेष्ठ २२
माङ्खा १, लामोसाँघु बजार, सिन्धुपाल्चोक
घरमै बसिरहेको थिएँ ।
भूकम्प आउन थालेपछि एकछिन घरमै बस्यौं । आउँछ जान्छ भन्ने लाग्यो । ठूलो आउन थालेपछि सबैजना भाग्न थाले । म पनि भागेँ । माथिल्लो चौथो तलाबाट झर्दाझार्दै भर्याङ भत्किएर थिच्यो । बचाऊ—बचाऊ भनेँ । जीउ सबैतिर थिचेको थियो ।
होस हराएको थिएन । उद्धारका लागि सशस्त्र प्रहरी आए । भूकम्प नरोकिएकाले उद्धार गर्न सकेनन् । म थिचिएरै बसेँ । बेलुकी ५ बजेतिर फेरि सशस्त्रले मलाई त्यहाँबाट झिक्ने कोसिस गरे । मेरो शरीर सबै थिचिएकाले सकेनन् ।
घरको पिलरका कारण उद्धार गर्न नसकेपछि थिचिएको हात काट्नुपर्छ भने । मैले सकभर हात नकाट्न भनें । हात नकाटे तिमीलाई उद्धार गर्न सकिँदैन भने ।
मर्नुभन्दा त एउटा हात नभएर के गर्छ र भन्ने लाग्यो । मैले हात काटेर भए पनि बचाइदिनुस् भनें । उनीहरूले काट्न थाले । त्यतिबेला म बेहोस जस्तो भएछु ।
पछि चउरमा लगेर सुताएपछि थाहा भयो कि तत्काल मेरो हात हँसियाले काटेको रहेछ ।
उद्धार गरिसकेपछि पनि बाँचिएलाजस्तो लागेको थिएन । अहिले पनि शरीरभरि स्टिल पाता छन् । सुनकोसी कलेजमा स्नातक दोस्रो वर्षमा पढ्छु । अप्रेसनको क्रममा खुट्टाको मासु काटेर हातमा टाँसेको छ । जागिर पाए जीवन धान्न सकिन्थ्यो होला ।
दिव्याले यसरी आफ्नो कथा–व्यथा सुनाइन् । पाँच तलाको उक्त घरभित्र भूकम्प जाँदा २० बसिरहेका थिए । उनीहरूमध्ये सोही घरले पुरेर १० जनाले ज्यान गुमाए ।
घाइतेमध्ये स्थानीय विद्यालयका शिक्षक इलामका यज्ञप्रसाद अधिकारीको ढाड भाँचिएको अवस्थामा अझै अस्पतालमा उपचार भइरहेको छ ।
उनी पढाउन नसक्ने अवस्थामा पुगेका छन् । उनको ५ वर्षको छोरा र श्रीमतीको सोही घरले थिचेर मृत्यु भयो । लामोसाँघु बजारमा मात्र ३४ जनाको मृत्यु भएको थियो । स्थानीय चर्चमा प्रार्थना गरिरहेका १६ जनाको एकै थलोमा मृत्यु भएको थियो ।
ओछ्यानमै घाइतेको छटपटी
४५ वर्षीय भरत माँझी ओछ्यनाबाट उठ्न सक्दैनन् । उनकी श्रीमती कुमारी माँझीको सहरामा उनको दैनिकी चलेको छ ।
भूकम्पबाट बच्न भाग्दाभाग्दै घरले थिच्यो । ढाड भॉचियो । देब्रे हात पनि चल्दैन । हिँडडुल गर्न नसकेपछि उनको ओछ्यानमै बास भएको छ ।
अस्तपालको उपचारपछि फर्केका भरत बेलाबेलामा जचाउन जान पनि खर्चको जोहो गर्न कठिन छ ।
भूकम्प गएपछि सबैजना भागे । भूकम्प रोकिएपछि खोज्दा धनबहदुरले श्रीमती रामकुमारीलाई भेटेनन् । २ घण्टापछि घरभित्रबाट हँ, हँ गरेको सुने । ‘शंका लागेर खोतल्दा त श्रीमतीलाई ढोकाकै छेउमा पुरिएकी रहिछन्,’ धनबहादुरले भने । उनकी श्रीमती ५२ वर्षीया रामकुमारी माँझी अहिले बैसाखीको सहारामा हिँडडुल गर्छिन् ।
‘अब कतिन्जेल यो अवस्थामा बाँच्नुपर्ने हो ठेगान छैन,’ रामकुमारीले भनिन्, ‘डाक्टरले त निको हुन्छ भनेका छन् ।’ २५ वर्षीय राजेन्द्र माँझीको दुवै खुट्टा भॉचिएको छ । ह्विलचियरबिना उनी हिँडडुल गर्न सक्दैनन् ।
६ महिना अस्पताल बस्दा पनि निको नभएपछि उनी सधैं ह्विलचियरमा हिँडडुल गर्न विवश छन् । उनको खुट्टामा स्टिल पाता राखिएको छ ।
सिन्धुपाल्चोका पश्चिम भेकको शिखरपुर बस्तीका यी घाइते प्रतिनिधि घटना हुन् । उक्त बस्तीको ४६ परिवार माँझी समुदायमा मात्र भूकम्पका ६ जना घाइते छन् ।
आर्थिक अवस्था कमजोर भएकाले उनीहरूले राम्रोसँग उपचार गर्न पाएका छैनन् ।
परिवारका मूली थला परेपछि कसरी जीविका चलाउने माँझी परिवार अन्योलमा छ । घाइते सुन्तली माँझीले बिलौना गरिन्, आफू अशक्त भएपछि कसरी परिवार पाल्ने ? शिखरपुरका पूर्वगाविस अध्यक्ष इन्द्रप्रसाद दाहालका अनुसार घाइते धेरै घरमै बसेर पीडा भोगिरहेका छन् ।
माँझी परिवार मात्रै होइन राम्चेकी ७ की तीर्थकुमारी तिमल्सिनाको भूकम्पले घर भत्किँदा खुट्टा भाँचियो । उनको खुट्टामा अहिले स्टिल पाता राखिएको छ ।
बैसाखीको सहारमा आँगनमा वरिपरि मात्र हिँड्न सक्छिन् । फटकशिलाका गणेश नेपालीको ढाड चल्दैन ।
भूकम्पमा घर भत्केर थिचेपछि उनको ढाड भॉचिएको थियो । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था निकै नाजुक छ । बिहानबेलुकी छाक टार्न नसक्ने दलित परिवारका गणेशलाई अस्पतालले सहयोग गरिरहेको छ ।
भूकम्पमा घाइते भएका जिल्लाभर कति संख्यामा छन् ? उनीहरू कुन अवस्थामा छन् ? कसरी जीविका चलाइरहेका छन् ?
कति घाइते ओछ्यान र अस्पतालमा छटपटी गरिरहेका छन् ।
आधिकारिक तथ्यांक कसैसँग छैन । प्रहरीका अनुसार भूकम्पमा करिब १ हजार ६ सय जना घाइते भएका थिए । भूकम्प गएको वर्ष बितेको छ । तीमध्ये ओछ्यान र बैसाखीबिना बाँच्न नसक्ने अवस्थाका घाइते कति छन् यकिन छैन ।
जिल्ला स्वास्थ्य कार्यालय चौताराले पनि यसको तथ्यांक राखेको छैन । वरिष्ठ जनस्वास्थ्य अधिकृत मंगला मानन्धरका अनुसार जिल्ला अस्पतालसँग पनि त्यसको तथ्यांक छैन ।
दैनिक १—२ जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
सदरमुकाममा अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा सञ्चालित घाइते पुनस्र्थापना केन्द्रमा ७५ जनाले उपचार गराएर फर्केका छन् । केन्द्रका अनुसार अहिले १४ जनाको उपचार भइरहेको छ । उपचारमा आउन २० जनाले अनुरोध गरिसकेका छन् । तर उपचार गराएर फर्केका सबैको अवस्था पहिलेकै अवस्थामा पुगेको छैन ।
अपांग सुरक्षा तथा ग्रामीण विकास संस्थाका अनुसार भूकम्पमा आफूहरू अपांग भएको भन्दै परिचयपत्र माग गर्न आउनको भीड लाग्ने गरेको छ ।
संस्थाका अध्यक्ष अमर घलेले भने, ‘सयौंले परिचयपत्र माग गरेका छन् ।’


0 comments
Write Down Your Responses