मलेसियाका फिर्तीकेन्द्रबाट थप २१ नेपालीको उद्धार
चैत्र ३०, २०७२- मलेसियामा विभिन्न अभियोगमा जेल सजाय पूरा गरिसकेका एवं घरफिर्तीका लागि हवाई टिकट अभावमा यहाँका फिर्तीकेन्द्रमा रहेका २१ नेपालीको उद्धार गरिएको छ ।
अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय काटिसकेका उनीहरुलाई नेपाल वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको आर्थिक सहयोगमा हवाई टिकट उपलब्ध गराई मंगलबार फर्काइएको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले मंगलबार एक विज्ञप्ती जारी गर्दै क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित फिर्ती केन्द्रमा रहेका सबै नेपालीको उद्धार गरिएको जनाएको हो ।
दूतावासको तथ्यांक अनुसार करिब डेढ वर्ष यता यहाँका विभिन्न फिर्तीकेन्द्रबाट सरकारी र विभिन्न संघसंस्था एवं कम्पनीको सहयोगमा ४ सय ८७ जना नेपालीको उद्धार गरि फर्काइसकीएको छ ।
फिर्तीकेन्द्रमा हवाई टिकट अभावमा अलपत्र नेपाली उद्धारका लागि नेपाल वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले हालसम्म दुईपटक गरि ४० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ ।
फिर्तीकेन्द्रमा अलपत्र नेपाली फर्काउन दूतावासले सहयोग रकम जुटाउँदै फर्काउने अभियान चलाउँदै आएको छ । फिर्तीकेन्द्रमा हवाई टिकट अभावमा अलपत्र रहेका अन्य नेपालीलाई पनि छिट्टै उद्धार गरिने जनाइएको छ ।


0 comments
Write Down Your Responses