काठमाडौंमा साना हतियार खोज्दै प्रहरी

१६ वैशाख, काठमाडौं । 
महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले काठमाडौंमा आपराधिक समूहका साथमा रहेका हतियारको खोजीलाई तीब्र बनाएको छ । बिहीबार लमजुङका विवेक गुरुङलाई एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसहित पक्राउ गरेको छ । प्रहरी टोलीले गुरुङको कोठामा खानतलास गर्दा लागुऔषध समेत फेला परेको थियो । 
गुरुङले पेस्तोल प्रयोग गरेर काठमाडौंमा लागूऔषधको कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पोखरेलले बताए । करिब १६ वर्ष देखि काठमाडौंमा बस्दै आएका गुरुङका साथबाट लागुऔषध विक्री गरेर संकलन भएको २ लाख ६१ हजार नगद समेत बरामद भएको थियो । डीएसपी पोखरेलले भने, ‘बरामद गरिएको पेस्तोल तेल लगाएर एकदम सही हालतमा राखिएकाले यो हतियारसहित लागुऔषध विक्री गर्ने ठूलै गिरोह जस्तो देखिन्छ, हामी अनुसन्धान गर्दैछौं ।
’ विशेष गरेर कलेजका विद्यार्थी तथा दुर्व्यसनीहरुलाई लागुऔषध विक्री गर्ने भएकाले निकै खतरनाक समूह हुन सक्ने प्रहरीको अनुमान छ । गुरुङबाट दुर्व्यसनीलाई लागुऔषध प्रयोग गर्न आवश्यक पर्ने सिरिन्ज बरामद भएको थियो । यसबाट आपराधिक समूहलाई लागूऔषधको ग्राहक बनाएको र आफनो सुरक्षाका लागि हतियार राखेको हुन सक्ने प्रहरीको बुझाइ छ ।
 हतियार कारोवारी राजधानीमा सक्रिय महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डीएसपी सोमन्द्रसिंह राठौरलाई २ साताअघि काठमाडौंमा गुण्डाहरुलाई हतियार विक्री गर्ने समूह सक्रिय छ भन्ने एउटा सुराक आयो । उनले सूचनाका आधारमा हतियार विक्री गर्ने समूहको खोजी गर्ने थाले, उनले पाएको सुराकमा हतियार कुनै गुण्डाको समूहलाई विक्री हुँदैछ भन्ने थियो ।
 गत वैशाख १० गते सुराकीको सूचनाअनुसार उनी बानेश्वरको शान्तिनगरस्थित एक घरमा छापा मार्न पुगे । त्यहाँ भेटिए काभ्रे भकुण्डेबेंसीका २१वर्षीय कारसाङ लामा । प्रहरीले लामाको कोठामा छापा मार्दा खाटको घर्राबाट नाइन एमएमको एकथान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गाली बरामद गर्‍यो । सोह्रखुट्टे वृत्तका डीएसपी राठौरका अनुसार कार्साङले उक्त पेस्तोल विक्रीका लागि राखेका थिए । 
मोरङका तेन्जिङ शेर्पा नाम गरेको व्यक्तिले ३ लाखमा विक्री गर्न उक्त पेस्तोल आफुलाई दिएको लामाले प्रहरीसँगको वयानमा बताएका छन् । करिब तीन महिना अगाडि काठमाडौंमा चिनजान भएको तेन्जिङसँग कारसाङले आफूलाई हतियार चाहिएको बताएका थिए ।
 तेन्जिङले भनेको केहीदिनमै हतियार र गोली ल्याएर ३ लाखमा विक्रीका लागि दिए, त्यसवापत कारसाङले ५० हजार पाउने सहमति भएको प्रहरीको भनाइ छ । उक्त हतियार काभ्रेका गुण्डाहरुले मगाएको डीएसपी राठौले बताए । उनले भने,- त्यही समूहले दुईवटा हतियार मगाएको देखिन्छ, तर अर्को हतियार नआउँदै हामीले पक्राउ गर्‍यौं । 
भूकम्पपछि ठेक्कापट्टाको काम बढ्ने भएकाले त्यसका लागि गुण्डाहरुले हतियार खरिद गर्न खोजेको हुन सक्ने प्रहरीको अनुमान छ । हतियार खोज्न इन्टेलिजेन्स सक्रिय: एसएसपी थापा पछिल्लो ७ महिनामा मात्रै काठमाडौंमा ६ वटा हतियार बरामद भएका छन् । वानेश्वर वृत, बौद्ध, तथा काठमाडौं परिसरको विषेश टोलीले काठमाडौंमा लुकाई राखिएका हतियारहरु बरामद गरेको हो ।
 पहिले नै ल्याएर राखिएको हतियार बरामद भएको काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापाले बताए । एसएसपी थापाले भने- काठमाडौंमा पहिले नै ल्याइएका हतियाहरु थुप्रै छन् भन्ने सूचनाका आधारमा इन्टेलिजेन्स परिचालन हुँदा ती हतियारहरु बरामद भएका हुन् । 
 हतियार प्रयोग गरेर धम्क्याउने तर्साउने समूह त्यति सक्रिय छैनन् तर हतियार ल्याएर राखिएको थाहा पाएपछि हामीले सक्रियता बढाएका हौं, एसएसपी थापाले भने ।

0 comments

Write Down Your Responses