वैशाख १२ गते फेरि तहसनहस पार्ने ठूलो भूकम्प आउँछ ? यसो भन्छन् विज्ञ - !!
२०७२ साल वैशाख १२ गते नेपालमा गएको शक्तिशाली भूकम्पका कारण करिब ९ हजारको मृत्यु भयो । हजारौं घाइते भए भने लाखौं मानिस विस्थापित भएका छन् । 

भूकम्प गएको एक वर्ष पुग्न लाग्दा सर्वसाधारणमा अझै त्यसको त्रास मेटिएको छैन । भूकम्पीय दृष्टिले नेपाल अन्त्यन्तै जोखिमपूर्ण देशमा पर्दछ । अब अर्को भूकम्प कहिले जान्छ भन्ने जिज्ञासासमेत आम नागरिकमा देखिन्छ । तर वैज्ञानिकहरुले अहिलेसम्म भूकम्प कहिले जान्छ र कति शक्तिशाली जान्छ भन्नेबारे कुनै निचोड निकाल्न सकेका छैनन् । इतिहासलाई हेर्दा पनि नेपालमा पटकपटक शक्तिशाली भूकम्प गएको देखिन्छ ।
अहिले भूकम्पको जोखिम कत्तिको छ ? र आगामी दिनमा कहिले भूकम्प जान सक्छ ? भन्ने लगायतका विषयमा दैनिक नेपालले राष्ट्रिय भूकम्प मापन केन्द्र, खानी तथा भूगर्भ विभागका प्रमुख लोकविजय अधिकारीसँग गरेको कुराकानी
:- – २०७२ साल वैशाखमा गएको भूकम्पको एक वर्ष पुग्न लागेको छ । यसबीचमा पराकम्पनहरु गइरहेका छन् । जोखिम अझै नसकिएको हो ?
नेपाल भूकम्पीय जोखिम भएको क्षेत्र हो । यहाँको जोखिम कहिल्यै सकिने होइन । नेपालमा दिनदिनै भूकम्पहरु गइरहेका हुन्छन् । कति महसुस गर्न सकिन्छ त कति सकिँदैन । त्यसैले जोखिम कहिल्यै पनि नसकिने क्षेत्र भएकाले हामी जहिले पनि जोखिममै हुन्छौं ।
– तर विगतलाई हेर्दा काठमाडौं उपत्यकामा ८० देखि एक सय वर्षको फरकमा मात्र भूकम्प गएको देखिन्छ ।
के अब काठमाडौंलाई ठूलो नोक्सानी पुर्याउने हिसावले चाहिँ तत्काल ठूलो भूकम्प जाने सम्भावना टरेको हो ?
त्यो पनि होइन । २०७२ साल वैशाख १२ गते गोर्खालाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले काठमाडौंलाई ठूलो धक्का दियो । यसअघि गोर्खा आसपासलाई नै केन्द्र बनाएर १८९० मा पनि ठूलो भूकम्प गएको थियो । त्यसले पनि काठमाडौंलाई ठूलो क्षति पुर्यायो । त्यसपछि त्यस क्षेत्रमा ठूलो भूकम्प गएको भनेकै २०७२ वैशाख १२ गतेको हो ।
१८९० को भूकम्पमा जमिनमुनिबाट निस्किएको शक्ति पुनः सञ्चय भएर अर्को भूकम्प जान निकै लामो समय लाग्यो । १८९० अघि १६८१ सालमा त्यही ठाउँमा भूकम्प गएको थियो । त्यसअघि १४०१ साल र १३४४ सालमा पनि ठूलो भूकम्प गएको थियो भन्ने छ । अहिले पुनः शक्ति सञ्चय भइरहेको हुनसक्छ । तर त्यो कहिले बाहिर आउँछ भनेर यकीन भन्न सकिँदैन ।
– तपाईंले १८९० सालमा गएको भूकम्पपछि शक्ति सञ्चय भएर २०७२ सालमा भूकम्प गएको भन्नुभयो, तर १९९० सालमा पनि त शक्तिशाली भूकम्प गएको थियो नि ?
१९९० सालमा त पूर्वी नेपाललाई केन्द्र बनाएर भूकम्प गएको हो । त्यसअघि पूर्वमा १२५५ सालमा ठूलो भूकम्प गएको थियो । १२५५ देखि ठूलो भूकम्प गएको थिएन ।
त्यसयता सञ्चय भएको शक्ति १९९० सालमा निस्किएर भूकम्प गएको हो । त्यो भूकम्प जान लामो समयसम्म शक्ति सञ्चय भएको देखिन्छ ।
– पश्चिम नेपालमा अर्को शक्तिशाली भूकम्प जाने सम्भावना छ भनिन्छ नि ?
हो, अहिले हामीहरुले गरिरहेको अध्ययन हेर्दा पश्चिम नेपालमा ५ सय वर्षदेखि ठूलो भूकम्प गएको छैन । पश्चिम नेपालको हिमालयदेखि तराईसम्मै ठूलो शक्ति सञ्चय भएको छ । त्यो निस्कन बाँकी छ । हिमालयमा इन्डियन प्लेट सर्दै आएको छ ।
गोर्खादेखि पश्चिम भारतको देहरादूनसम्मको एक सय किलोमिटर क्षेत्र जमिनमुनी ठूलो मात्रामा शक्ति सञ्चय भएकाले कुनै पनि बेला बाहिर निस्कने सम्भावना चाहिँ छ । तर कहिले निस्कन्छ भन्ने थाहा हुँदैन ।
– पछिल्लो समयमा जापान, इक्वेडरलगायतका देशमा ठूला भूकम्पहरु गइरहेका छन् । ती भूकम्पसँग नेपालको जमिनमुनीको शक्तिसँग कुनै सम्बन्ध छ कि छैन ?
अन्य मुलुकमा गएका भूकम्पसँग नेपाल मुनि जम्मा भएको शक्तिको कुनै सम्बन्ध छैन । जुन ठाउँमा शक्ति सञ्चय भएर बसेको छ त्यो ठाउँमा नै भूकम्प जाने हो ।
भारतमा पनि ८ म्याग्नेच्युटको भूकम्प जाने हल्ला चलेको छ । वास्तविकता के हो ?
नेपालको गोर्खादेखि पश्चिम भारतको देहरादूनसम्मको एक सय किलोमिटर लामो भूभागमुनि जम्मा भएर बसेको शक्तिको विषयलाई लिएर त्यो हल्ला भएको हो । तत्कालै ठूलो भूकम्प जान्छ भनेर कसैले पनि भन्न सक्दैन । जहिले पनि जान सक्छ र अझै लामो समयसम्म नजान पनि सक्छ ।
– भारतीय र तिब्बती प्लेट जुध्दा नेपालमा भूकम्प गएको भनिन्छ । अहिले यो प्लेट सरेर कहाँ पुगेको छ ? काठमाडौं मुनि बसेको हल्ला पनि छ, चुरे पहाडमा पुगेपछि मात्र जोखिम कम हुन्छ भनिन्छ नि ?
जमिनमुनीको प्लेट सरेर कहाँ पुग्यो भन्ने परीक्षण गर्ने संयन्त्र हामीकहाँ छैन ।
हाले अध्ययनहरु गरिरहेका छौं । २०७२ सालमा गएको भूकम्पपछि पनि नेपालको सतहमुनि अझै शक्ति बाँकी चाहिँ छ । कति शक्ति हिमाल बन्न प्रयोग हुन्छ, कति बाँकी नै रहन्छ । तर कहिलेदेखिको बाँकी हो भन्ने टुंगो लागेको छैन । कहिले जान्छ, कति शक्तिशाली भूकम्प जान्छ भन्न हामी सक्दैनौं । भूकम्पका धेरै पुराना तथ्यांकहरु पनि हामीसँग छैनन् ।
– काठमाडौंको सन्दर्भमा भन्दा चाहिँ यहाँ प्रत्येक ८० देखि १०० वर्षको फरकमा ठूलो भूकम्प जान्छ भनिन्छ । त्यस्तै हो भने के अब काठमाडौंमा चाहिँ अर्को ८० या एक वर्षसम्म भूकम्प जाँदैन त ?
हामीले थाहा पाउनुपर्ने कुरा के हो भने ८० वर्षमा या एक सय वर्षमा भूकम्प जाने कुरा लागू हुँदैन ।
काठमाडौंमा ८० देखि एक सय वर्षसम्ममा भूकम्पले क्षति पु¥याएको भन्ने छ । त्यो काठमाडौंमै भूकम्प गएर भएको होइन । १८९० मा पश्चिममा भूकम्प जाँदा पनि काठमाडौंलाई हल्लायो र १९९० सालमा पूर्वमा भूकम्प जाँदा पनि काठमाडौंलाई ठूलो क्षति पुर्यायो । त्यसैगरी २०४५ सालमा पूर्वी नेपालमा गएको भूकम्पले पनि काठमाडौंलाई ठूलै क्षति पु¥यायो । त्यसैले एक वर्षसम्म काठमाडौंमा अब भूकम्प जाँदैन भन्ने नै होइन
। – शक्तिशाली भूकम्प गएको एक वर्षसम्म पनि पराकम्पन गइरहेका छन् । यो कति समयसम्म रहन्छ ?
यति नै वर्षसम्म या यति दिनसम्म जान्छ भन्ने हुँदैन । ठूलो भूकम्प गएपछि जमिन धेरै चिरिएको हुन्छ । चिरिएको क्षेत्र सन्तुलनमा आउन निकै समय लाग्छ । नर्मल ठाउँमा भूकम्प गएको छ भने लामो समयसम्म पराकम्पन गइरहन्छन् । तर गहिरो क्षेत्रमा गएको छ भने मात्र त्यस्ता पराकम्पनहरु लामो समयसम्म जाँदैनन् ।
गत वैशाख १२ भन्दा अघि पनि नेपालमा दैनिक १० देखि १५ वटा भूकम्प जाने गरेका थिए । वैशाख १२ लगत्तै केही दिन दैनिक १ हजार ५ सय वटा पराकम्पन गएका थिए । तर अहिले आएर दैनिक ३० देखि ४० वटा पराकम्पन गइरहेका छन् । 

अझै कति समयसम्म जान्छन् भन्न सकिन्न । तर क्रमशः घट्ने क्रममा छ ।
– राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको मात्र तथ्यांक संकलन गरिरहेको छ कि यसको जोखिम न्यूनीकरणका लागि पनि केही काम पनि गरिरहेको छ ?
राष्ट्रिय भूकम्प मापन केन्द्र, खानी तथा भूगर्भ विभागले भूकम्पका बारेमा अध्ययनहरु गरिरहेको छ । अमेरिका, बेलायत, फ्रान्स, सिंगापुरलगायतका देशसँग मिलेर पराकम्पन नाप्ने र संकलन गर्ने काम गरिरहेको छ । त्यसैगरी अहिले काठमाडौं उपत्यकाको जोखिम मूल्यांकन गर्ने काम पनि हामीले गरिरहेका छौं ।
– तपाईंहरुले गरिरहेको अध्ययनले के फाइदा हुन्छ त ?
हामीले गरिरहेको अध्ययनले कुन ठाउँ कति जोखिमपूर्ण छ भन्ने मात्र थाहा हुने हो । त्यसले पूर्वतयारी गर्न सहयोग पुग्छ, कति हल्लाउँछ, कति क्षति हुन्छ भन्ने तथ्यांक संकलन हुन्छ । त्यसले कसरी सतर्कता अपनाउने र कस्ता घर बनाउने भन्ने विषयमा ठोस निर्णय गर्न सकिन्छ ।
– वैशाख आउन लागेको छ । सर्वसाधारणमा पुनः त्रास बढ्दै गएको अवस्थामा तपाईं भूकम्प मापन केन्द्रको प्रमुखको हैसियतले के सुझाव दिनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा भूकम्प भन्ने वित्तिकै आत्तिने र अरुले जे भन्छ त्यसैको पछाडि लाग्ने तपाईंको बानी छ भने त्यो अहिलेदेखि नै तुरुन्तै परित्याग गर्नुहोस् । अरुले भूकम्प आउँछ भन्दैमा आउने होइन, आफूलाई मानसिक रुपमा विक्षिप्त पार्नु हुँदैन । दैनिक रुपमा सानातिना भूकम्पहरु संसारभर गइरहन्छन् र नेपालमा पनि गइरहेका छन् । त्यसैले आफूले भूकम्पबाट सावधानी अपनाउनुपर्छ । संरचना निर्माण गर्दा भूकम्पीय प्रविधि प्रयोग गरी जोखिम कम गर्ने उपाय अबलम्बन गर्नुपर्छ ।

0 comments
Write Down Your Responses