नेपालमा ६० हजार भूकम्प गएको देखिन्छ-

काठमाडौँः गत वर्ष वैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि हजारौँ भूकम्प गएका छन् । गत वर्ष वैशाख १२ मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ म्याग्नेच्यूडको भूकम्प गयो । शक्तिशाली भूकम्पबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते भए ।
 झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई गएको उक्त भूकम्प नेपालीका लागि कालो दिन बन्यो । त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । ‘गोरखा भूकम्प’ गएको आइतबार एक वर्ष पुग्दैछ । वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ म्याग्नेच्यूड र त्यसभन्दा माथिका ४४९ परकम्प गएका छन् । 
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा विसं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् । नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ म्याग्नेच्यूडका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ रिक्टरको भूकम्प गएको थियो ।
 भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ म्याग्नेच्यूडका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ म्याग्नेच्यूडसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् । भूकम्प मापन केन्द्र आफैँ घाइते नेपालमा भूकम्पको लामो इतिहास छ । यतिका धेरै भूकम्प गइसके तर भूकम्प मापन गर्ने निकाय खानी तथा भूगर्भ विभागको एक मात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्तिको अभावले आफैँ घाइते अवस्थामा छ । पर्याप्त प्राविधिकको अभावले वर्षभरिका भूकम्पको गणना प्रक्रियामा लैजान सकिएको छैन । केन्द्रका प्रमुख अधिकारीका अनुसार वैशाख १२ को भूकम्पताका १३ प्राविधिक थिए अहिले छ प्राविधिकमा सीमित छ ।
 वैशाख १२ पछि २४ सै घन्टा चलाउनुपर्ने केन्द्रमा भूकम्पसम्बन्धी काम गर्ने प्राविधिकको अभावले चुनौती थपिएको छ । ‘नेपालमा यति धेरै भूकम्प गइसकेका छन् तिनको प्रशोधन गर्न प्राविधिक छैनन् । हाल केन्द्रमा भएका छ, जनामध्ये पनि नेपालभरका भूकम्प मापनसम्बन्धी केन्द्रको मर्मत गर्न जानुपर्ने बाध्यता छ,’ अधिकारीले भने । देशभर हाल भूकम्पबारे जानकारी सङ्कलन गर्ने २१ साइस्मिक स्टेसन छन् । केन्द्रलाई अत्याधुनिक र सुविधायुक्त बनाउन नसक्दा भूगर्भीय अनुसन्धानका काम प्रभावित भएका छन् । 
 भूगर्भविद् डा सोमनाथ सापकोटाले भूगर्भीय अध्ययनका लागि अमेरिका, फ्रान्स र सिङ्गापुर लगायत देशको सहयोगमा दरारको अवस्थाबारे थाहा पाउने काम सुरु गरिएको बताउनुभयो । नेपालमा फ्रान्स सरकारको सहयोगमा सन् १९६८ देखि भूकम्प मापन गर्न सुरु गरिएको थियो । भूकम्पको इतिहास विसं १९९० को महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ हो । विसं २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर ६.७ म्याग्नेच्यूडको भूकम्प गएको थियो जसबाट ७२१ जनाको मृत्यु भएको थियो ।
 सङ्खुवासभा केन्द्रबिन्दु बनाएर १९९० सालमा गएको ८.३ म्याग्नेच्यूडको महाभूकम्पबाट नेपालमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा क्षति भएको थियो । संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ म्याग्नेच्यूडको गएको थियो । हालसम्म संसारमा ९ म्याग्नेच्यूडभन्दा ठूला पाँच भूकम्प गएका छन् । तीमध्ये चार वटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन् ।
 भूकम्प कसरी भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ । त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ । 
सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमासम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ । ऐतिहासिक रुपमा हेर्दा नेपालमा विसं १३१२ मा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । विगतका भूकम्पको तथ्याङ्क हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको केन्द्रका प्रमुख अधिकारीले बताए । त्यस्तै पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो ।
 भूकम्प कहिले कुन अवधिमा कसरी जान्छ भनेर हालसम्म कुनै वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । यसैबीच भूकम्प मापन केन्द्रले काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम अध्ययन गर्न जापानी सहयोग नियोगको सहयोगमा तीनवर्षीय परियोजना सुरु गरी तथ्याङ्क लिने काम सकिएको जनाएको छ । यसबाट काठमाडौँमा अब आउने ठूला भूकम्प कहाँ कति क्षति पुग्छ र कहाँ कस्तो खाले कम्पन गराउँछ, भन्ने थाहा पाउन सकिनेछ ।

0 comments

Write Down Your Responses