राजनीति ठग र डनहरुको पेवा बनेको छ : भट्टराई \

वैशाख ५, २०७३- नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक बाबुराम भट्टराईले मुलुकको राजनीति ठग र डनहरुको पेवा बनेको बताएका छन् । नयाँ शक्ति नेपालले शुक्रबार सप्तरीको भारदहबाट सुरु गरेको मधेस जागरण अभियानको क्रममा आइतबार धनुषा आईपुगेका भट्टराईले हुलाकी सडकमा पर्ने परवाहा बाजारमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै भने, ‘अचेल राजनीति ठग र डनहरुको पेवा बनेको छ ।
 नयाँ शक्ति नेपाल राजीतिक बेथितीहरुलाई अन्त्य गर्न वैकल्पिक राजनीतिक शक्ति बन्नेछ ।’ मधेसवादी दलहरुले प्रमुखकताका साथ उठाउँदै आएको सीमांकन सम्बन्धि मुद्दा जायज रहेको उल्लेख गर्दै उनले पहिलो संविधानसभाका विभिन्न समिति तथा राज्य पुर्नसंरचना आयोगले गरेको सिफारिस अनुसार प्रदेशको सीमांकन गर्नु पर्ने माग पनि गरे । 
 मधेसीको माग राष्ट्रिय माग भएको उल्लेख गर्दै उनले यसका लागि मधेसमा मात्र हाईन राष्ट्रिय आन्दोलन हुनुपर्ने जिकिर गरे । आन्दोलनलाई परिणाममुखि बनाउन मधेसवादी दलका नेताहरुले राजीनामा गरेर जनताको बीचमा आउने पर्ने तर्क उनको थियो । ‘पाँच महिना लामो मधेस आन्दोलनको स्वर राज्यले सुनेन । मधेसीहरुको दु:खसँग राज्यको कुनै सरोकार देखिएन । मधेसवादी दलका नेताहरु सत्ताको लोभ त्यागेर जनताको बीच आउनु बेस होला ।
’ मध्य मधेसका गाउँहरुको प्रत्यक्ष भ्रमण गरे पश्च्यात आफू अत्यन्त भावुक बनेको उनको प्रतिक्रृया थियो । कोशी, कमला, वलान लगायतका नदी तथा उर्बर समथल भूमि भएपनि मधेसका जनता गरिब हुनुमा यस क्षेत्रप्रतिको राज्यको उपेक्षा प्रमुख कारण भएको उनको भनाई थियो । ‘यस देशको प्रधानमन्त्री र अर्थमन्त्री भएको नाताले मलाई दुख मात्र होईन लाज पनि लागेको छ,’ उनले भने । कार्यक्रमलाई नयाँ शक्तिका मधेस ब्युरो इन्चार्ज रामचन्द्र झा, डा.रामकेवल साह, शीला यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

0 comments

Write Down Your Responses