भूकम्पको एक वर्ष: थामिएन आँसु


चौतारा: सानुसिरुबारीकी कुमारी तामाङ बेलाबेलामा झस्किन्छिन् । सात वर्षीया छोरीले 'ममी भोक लाग्यो' भनेजस्तै लाग्छ। यताउति हेर्छिन् तर केही देख्दिनन् अनि रुन थाल्छिन् ।
 गत वर्ष वैशाख १२ गते भूकम्प गएपछि बेपत्ता भएकी दुई कक्षामा पढ्ने उनकी छोरी जीवितै छिन्जस्तै लाग्छ उनलाई। पानी लिन पँधेरातिर जाँदा आँगनमा खेल्दै गरेकी उनकी छोरी भूकम्पको धक्कापछि भत्किएको घरसँगै बेपत्ता छिन्। पानी छोडेर छोरी खोज्न दौडँदै घर आएकी कुमारी अहिले पनि भग्नावशेषमा गएर छोरीको केही चिनो भेटिन्छ कि भनेर टोलाइरहन्छिन्। भत्केको घरछेउमै बनाएको टहरोबाट घरिघरि घरतिर हेर्छिन्। 
आँगनमा छोरी खेल्दै गरेको झझल्कोबाहेक केही देख्दिनन् उनी। 'न लास भेटियो, न त सास नै । त्यसैले रातदिन उसको झझल्को लागिरहन्छ', कुमारी भन्छिन्, 'अझै छोरी भोक लाग्यो भन्दै आउँछे किजस्तो लाग्छ।' उनलाई थाहा छ-भूकम्पका कारण घर भत्कँदा आफ्नो वा छिमेकीको घरले पुरिएर छोरी बेपत्ता भएकी हुन् । तर पनि केही चिनो नभेटिएकाले उनलाई कतै गएकी छे, आई पो हाल्छे कि भन्ने आशा अझै छ। 

तीन दिनसम्म भग्नावशेष खोतल्दा पनि नभेटिएपछि परिवार र छिमेकीले अब भेटिँदैन भनेर छाडेका थिए । 
छोरी गुमाउनुको पीडा त छँदैछ, उनले अन्य मृतक परिवारले सरह सरकारले दिएको राहतसमेत पाएकी छैनन् । स्थानीय प्रशासनले पाउँछ्यौ भनेकाले ढिलै भए पनि राहत पाइएला भन्नेमा उनी आशावादी छिन्। सानुसिरुबारीकै सुस्मिता तामाङको पनि पीडा उस्तै छ । १५ मिनेटअघिसम्म खेल्दै गरेको चार वर्षीय छोरा भूकम्पको धक्कापछि गायब भयो । छोराले 'भोक लाग्यो' भनेर झगडा गर्न थालेकाले खानेकुराको बन्दोबस्त गर्न घरभित्र छिरेकी उनी मुस्किलले बाँचिन्। धक्का सकिएपछि खेल्दै गरेको छोरा नभेटिएपछि उनी बेहोस भइन् ।
 उनलाई अहिलेसम्म अन्तिम समयमा 'भोक लाग्यो' भन्दा पनि छोरालाई केही खुवाउन नपाएको पीडाले सताउने गरेको छ। छोराछोरी गुमाएका बाबुआमामात्र होइन, अभिभावक गुमाएका बालबालिकाको पीडा झन् दर्दनाक छ । घरमा पुरिएर आमा बितेको एक वर्ष पुगिसक्दा पनि पीपलडाँडाका विकेश कुँवर सामान्य अवस्थामा फर्किन सकेका छैनन्। 
 आमा गुमाउनुको पीडासँगै वर्ष दिनसम्म छाप्रोको बासले उनलाई छट्पटी हुने गरेको छ । कमजोर आर्थिक अवस्थाका उनको परिवारले अझै व्यवस्थित घर बनाउने कल्पनासम्म गर्न सकेको छैन। आमा, हजूरआमा र भाइलाई एकै चिहानमा पुरेको पीडा भुल्न नसकेकै कारण सिर्जना सापकोटाले पढाइमा त्यति ध्यान दिन सकिनन् । उनको परीक्षा पनि सोचेजस्तो राम्रो हुन सकेन। एकातिर अभिभावक गुमाएको पीडा अनि अर्कोतर्फ सुरक्षित आवास नहुँदा सिर्जना ढुक्कसँग निदाउन सकेकी छैनन्। 'न लास भेटियो, न त सास नै । त्यसैले रातदिन उसको झझल्को लागिरहन्छ', कुमारी भन्छिन्, 'अझै छोरी भोक लाग्यो भन्दै आउँछे किजस्तो लाग्छ।' घर बनाउने सोचाइ भए पनि सरकारको स्पष्ट नीति नआउँदा आफ्नो परिवारले के गर्ने भन्ने निर्णय गर्न नसकेको उनले बताइन् । 
'बुबाले घर बनाउनुपर्ने भन्नुहुन्छ तर अनुदान आउने कुरा स्पष्ट नभएकाले घर बनाउने विषयमा सोच्न सकेकी छैन', सिर्जनाले भनिन्, 'अब वर्षाअघि घर बनाउन सकिँदैन होला।' भूकम्पका कारण घर भत्किएर पत्नी गुमाएका नवराज अधिकारी अझै केही समय घर बनाउन थाल्ने मनस्थितिमा छैनन् । पत्नीको काजकिरियासमेत बारीको पाटोमा गरेका अधिकारी आर्थिक समस्याकै कारण तत्काल घर बनाउनसक्ने अवस्था नरहेको बताउँछन् । 'एक वर्ष जसरी बित्यो, अबका दिन पनि त्यसैगरी बित्लान् नि', अधिकारीले अन्नपूर्णसँग भने। 
 भूकम्पका कारण घरबास गुमाएका परिवारको पीडा पनि कम छैन। क वर्गको भूकम्पपीडित परिचयपत्र पाएकी लाँगर्चे गाविस १ ओख्रेनीकी पेमा शेर्पाले सरकारले अस्थायी आवासबापत प्रदान गरेको १५ हजार पनि पाइनन्। उनले जाडोयाम लक्षित १० हजार रुपैयाँ राहत पनि पाइनन्। अब सरकारले उपलब्ध गराउने आवास अनुदानबापतको दुई लाख रुपैयाँ पनि नपाउने हो कि भन्ने चिन्ताले उनलाई पिरोल्न थालेको छ। भूकम्प गएको एक वर्ष बित्दा पनि प्रभावित परिवार छाप्रोमै रात गुजारिरहेका छन् । 
अधिकांश गाउँका पीडित अनुदानको पर्खाइमा छन्। 'अनुदान आउला र घर बनाउँला भनेर बसेको, त्यो पनि आउलाजस्तो छैन', बतासेका हरिबहादुर न्यौपानेले भने, 'सरकारले पाँच लाख दियो भने नपुग खोजखाज गरेर घर बनाउन हुन्थ्यो।'
 केही अनुदान आएपछि घर बनाउने योजना बनाए पनि अधिकांश भूकम्पपीडित अनुदानले घर बनाउन नपुग्ने र बैंकबाट उपलब्ध गराउने भनिएको ऋण लिन झन्झटिलो हुने भएकाले घर बनाउन नसक्ने मनस्थितिमा देखिन्छन्। 'सरकारले दिएको पैसाले पुग्दैन, कसरी घर बनाउनु ?' लाँगर्चेका गणेशबहादुर महतले भने, 'दुःख गरेर बनाएको घर भत्कियो। भएको सबै सम्पत्ति घरमा पुरियो। अब के गरेर घर बनाउनु ? अब टहरोमै बस्नुको विकल्प छैन।' पुनर्निर्माण प्राधिकरणले आइतबारबाट स्थायी आवास वितरण प्रक्रिया सुरु गर्ने जनाएको छ।
 जिल्लाका कर्थली गाविस, भोटेचौर र चौतारा नगरपालिकाबाट अनुदान वितरण प्रक्रिया सुरु हुनेछ।भूकम्पका कारण जिल्लामा तीन हजार पाँच सय ७० जनाले ज्यान गुमाएका थिए। त्यस्तै ८९ हजार आठ सय ८४ परिवारले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको भनी क वर्गको परिचयपत्र लिएका छन्। सरकारले अस्थायी आवासबापत वितरण गरेको १५ हजार रुपैयाँ ८७ हजार ६ सय ४९ जनाले पाएका छन् भने जाडोयाम लक्षित १० हजार राहत पाउने परिवार संख्या ८४ हजार तीन सय २८ छ।

0 comments

Write Down Your Responses